तपाईँ सुन्दै हुनुहुन्छः

विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रूपान्तरित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई राष्ट्रिय एकतामा बाँधेर मुलुकलाई रूपान्तरित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापन कार्यक्रममा सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका प्रधानमन्त्री ओलीले हिमवतखण्ड सम्मिलन हाम्रा संस्कृति, कला, साहित्य, इतिहास र सभ्यताको एउटा मिलन भएको र यहाँ राम्रो मन्थन भएको आफूले पाएको बताउनुभयो । 

सभ्यता, ज्ञान, योग, दर्शन र संस्कृतिको सुरुवातका यही हिमवत खण्डबाट हुनुको असाधारण महत्व रहेको चर्चा गर्दै उहाँले यस भूखण्ड भौगोलिक, सांस्कृतिक र जैविक  विविधताको नमुना भएको बताउनुभयो । “यस्तो गौरव गाथा भएको भूखण्डको पहिचानलाई कसरी संरक्षितसहित अगाडि बढाउने भनेर हामीले साझा सङ्कल्प गर्नुपरेको छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “मानव सभ्यताका छ हजार वर्षका धेरै पुस्ताका इतिहास हामीसँग छन् । ती पुर्खाका योगदान हामीसँग छन् । आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षित गर्नुपर्नेछ । जेनेटिक मेमोरीलाई हामीले पुनः जन्म गराउनुपर्नेछ ।”

प्रधानमन्त्री ओलीले हिमवत खण्डको गौरव र नेपाली जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अगाडि बढाउने सङ्कल्पको भावलाई केन्द्रमा राखेर कार्यक्रम स्थलमै रचित कविता प्रस्तुत गर्नुभएको थियो । 

समापन सत्रमा छानिएका कविहरूले कविता वाचन गर्नुभएको थियो ।

नेपाल र विदेशका गरी करिब पाँच सय स्रष्टा सहभागी सम्मिलनले १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । यही चैत १ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मिलनको उद्घाटन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button