‘उपभोक्ता अधिकार कार्यान्वयनका लागि तीनै तहका सरकार जुट्नुपर्छ’

सुर्खेत । उपभोक्ता अधिकार कार्यान्वयनका लागि तीनै तहका सरकार जुट्न आवश्यक रहेको अधिकारकर्मीले औँल्याएका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कोणसभामा उपभोक्ता अधिकारकर्मीहरूले अहिले पनि आम उपभोक्ताले दिनहुँ वस्तु तथा सेवाका क्षेत्रमा ठगिनु परिरहेको बताएका हुन् ।
भालाई सम्बोधन गर्दै नागरिक अधिकारकर्मी पीताम्बर पौडेलले उपभोक्ता सचेतनाका लागि वर्षको एक दिन औपचारिक कार्यक्रम गरेर मात्र नपुग्ने हुँदा तीनै तहका सरकारले नागरिक अधिकार कार्यान्वयनका लागि जुट्नुपर्ने बेला आएको जनाउनुभयो ।
उहाँले उपभोक्ता हित र स्वच्छ बजार कायम गर्न दर्जनौँ ऐन कानून भए पनि आम उपभोक्ताले अझै महसुस गर्न नपाएको बताउनुभयो ।
भ्रामक झुठा विज्ञापन, कमजोर नियमन र कारबाहीबाट उपभोक्ताले विश्वास गर्ने ठाउँ नरहेको बताउँदै नागरिक अधिकारकर्मी ढकालले फितलो बजार अनुगमनले अखाद्य वस्तुको उत्पादन, बेचबिखन, भण्डारण, गुणस्तरहीन सामानहरूको बिगबिगी, विषादीयुक्त फलफूल तरकारीसँगै माछा मासुजन्य वस्तु उपयोग गर्न आम उपभोक्ता बाध्य भएको जनाउनुभयो ।

कार्यक्रममा सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरिएकाले प्रमाणसहित उजुरी दिन आग्रह गर्नुभयो ।
कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले आम उपभोक्तालाई कुनै पनि उपभोग्यवस्तुमा ठगिने र मर्कामा पार्ने परिपाटीको अन्त्यका लागि सबै निकायको आपसी समन्वय तथा एकरुपता आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले उपभोक्तालाई सचेत र जागरूक गर्ने दायित्व सरकारको मात्रै नभई अन्य संघ संस्था, सरोकारवाला निकायको समेत रहेको बताउनुभयो ।
यस्तै उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त निर्देशक माधवप्रसाद न्यौपानेले उपभोक्ताको हक, हित संरक्षण गर्ने उद्देश्यले सचेतना कार्यक्रमदेखि वार्षिक कार्यतालिका नै बनाएर बजार अनुगमनलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बजार स्वच्छ र प्रतिस्पर्धी बनाउन आफूहरू क्रियाशील रहे पनि तीनै तहका सरकारका आ–आफ्ना कानुनले उद्यमी, व्यवसायीहरू अहिले धेरै मर्कामा परेको बताउनुभयो ।

अहिलेका उद्यमी तथा व्यवसायीहरू उपभोक्ता अधिकारप्रति सचेत र जागरूक रहेको बताउँदै उहाँले तीनै तहका सकारले उद्यमी तथा व्यवसायीमैत्री वातावरण बनाई दिन आग्रह गर्नुभयो ।
यसअघि उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको आयोजनामा ‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने मुल नाराका साथ स्थानीय मंगलगढी चोकदेखि निकालिएको प्रभातफेरी पीपल चौतारा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्