‘समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का महासचिव शङ्कर पोखरेलले समावेशिता लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको बताउनुभएको छ ।
एमाले केन्द्रीय कार्यालयमा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले आज आयोजना गरेको ‘राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवद्र्धनका लागि राजनीतिकर्मी भूमिका’ विषयको कार्यक्रममा समावेशितालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधारका रुपमा स्वीकार गरिएको बताउनुभयो ।

महासचिव पोखरेलले सामाजिक र सांस्कृतिक मान्यताको कारण महिला पछाडि पारिएका टिप्पणी गर्नुभयो । महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिँदै उहाँले देशको संविधान र निर्वाचनसम्बन्धी कानुनले महिलाका निम्ति गरेको व्यवस्थाको पालना हुनुपर्छ भन्नुभयो ।
महासचिव पोखरेलले महिला सहभागिताको हिसाबले नेकपा एमाले अन्य दल भन्दा फरक रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टीले अधिकभन्दा अधिक महिलालाई नीति निर्माणका स्थानमा अवसर दिएको बताउनुभयो ।

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलन कमजोर भएको भन्दै सबै राजनीतिक दलले महिलालाई अगाडि सार्नुपर्ने बताउनुभयो । संविधानले महिला अधिकारलाई सुनिश्चित गरे पनि अझै पनि त्यो पूरा हुन नसकेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्