धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामूहिक इफ्तार सम्पन्न
बाँके । नेकपा एमालेको भातृ सङ्गठन नेपाल मुस्लिम इत्तेहाद सङ्गठन बाँकेका अध्यक्ष मोहम्मद सफिक बेहनाले इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा आयोजना गर्नुभएको बृहत् इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।

राजनीतिक दलका नेता, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि र मुस्लिमहरूबिच आपसी सद्भाव, धार्मिक सहिष्णुता तथा रोजाको सन्देश उजागर गर्ने उद्देश्यले १४ औँ रमजानका दिन बेहनाले आयोजना गर्नुभएको रोजा इफ्तार कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाइले यस्ता कार्यक्रमले समाजमा धार्मिक सहिष्णुता बढाइ समाजमा भाइचाराको सम्बन्ध स्थापना गराउने बताउनुभयो ।
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय कोषाध्यक्ष अब्दुल करिम खानले आफ्नो पार्टी एमालेले सदैव सबै जातजाति र धर्मको सम्मान गर्दै उनीहरूको अधिकारको लागि लडेकाले नै गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समावेशी सहभागिता सम्भव भएको बताउनुभयो ।

इस्लामिक पात्रोको नवौँ महिनालाई रमजानको पवित्र महिना भनिन्छ र सो महिनाभरि मुस्लिम समुदायले बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तसम्म निराहार व्रत बस्ने गर्दछन्। सो क्रममा ठूलो सङ्ख्यामा नेपालगन्जका मुस्लिम समुदाय सहभागी भएका थिए।
प्रतिक्रिया राख्नुहोस्