तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरु

डडेल्धुरा । चैत महिना सुरु भएसंगैं डडेल्धुरा, बैतडी बझाङ सहितका ९ वटै जिल्ला सुदूरपश्चिममा छोरी चेलीबेटीलाई भिटौला पर्व सुरु भएको छ ।

आमा बुबा छोरा छोरीसँगको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट दाजुभाइले भेट्ने चलनको रूपमा प्रचलित छ । 

चैत्र १ गतेदेखि चेलीबेटीलाई भेट्न सुरु भइसकेको छ । चैत महिना खडेरीको महिना पनि हो । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ ।

नवदुर्गा गाउँपालिका १ की  बेलुदेबी ऐरका अनुसार अहिले भिटौला पर्वको महत्व झन बढ्दै गएको छ । यसैगरी आलिताल गाउँपालिका–८ का जोगराज भट्टले भिटौला कार्यक्रम यो महिना भरी धुमधामका साथ मनाइने बताउनुभयो ।

भिटौलामा स्थानीय परम्परा अनुसार सेल रोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहना समेत दिने चलन छ । यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने विश्वास रहिआएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button