काँग्रेसको प्रदेश स्तरीय प्रशिक्षण धनगढीमा, सभापति देउवाद्वारा उद्घाटन
धनगढी । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचन २०८४ मा केन्द्रित भएर पार्टीलाई अघि बढाउन आवश्यक रहेको बताउनु भएको छ ।

आज धनगढीमा पार्टीको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुँदै सभापति देउवाले पार्टीलाई एकढिक्का बनाउदै २०८४ मा केन्द्रित भएर काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
सभापति देउवाले आपसमा मेलमिलाप, समझदारी कायम गरि जनताको मन जितेर एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड्दिनुभयो ।
सुदूरपश्चिम प्रदेशबाटै जितको लहर ल्याउने गरि अहिलै देखि निर्वाचनको तयारी थाल्नु पर्ने उहाँले बताउनुभयो । उहाँले प्रशिक्षण कार्यक्रमले नेता कार्यकर्तामा थप उत्साह, जाँगर ल्याउने विश्वास ब्यक्त गर्नुभयो ।

त्यस क्रममा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, प्रदेश सभापति वीर बहादुर बलायरले पार्टीलाई बलियो बनाएर लैजानु पर्ने छ, त्यसका लागी सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नु पर्ने बताउनुभयो ।
नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट गरि डेढ सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रम आज र भोली दुई दिन सम्म चल्ने काँग्रेस प्रदेश महामन्त्री नरनारायण शाहले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्