विपद न्युनिकरणका लागि सबैले मिलेर काम गर्नुपर्छ : गृहमन्त्री
धनगढी । गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि सबैले मिलेर काम गर्नु पर्ने बताउनु भएको छ ।

आज कैलालीको धनगढी उपमहानगरपालिका १३ स्थित प्रादेशिक आपतकालिन गोदाम घर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौँमा रहेको आपतकालिन गोदाम घरलाई केन्द्रिय आपतकालिन गोदाम घरको रुपमा बिकास गर्ने सरकारी योजना रहेको बताउनु भयो ।
उहाँले वैदेशिक सहयोगबाट प्राप्त सामाग्री तथा सरकारले खरिद गरेरै प्रदेशमा रहेका आपतकालिन गोदाम घरमा आवश्यक विपद सामाग्री उपलब्ध गराइने बताउनुभयो ।
सरकारले प्रदेशलाई हस्तान्तरण गरिएका आपतकालिन गोदाम घरको रेखदेख गर्ने जिम्मेवारी अव प्रदेश सरकार भएको उहाँले बताउनुभयो ।
गृहमन्त्री लेखकले विपद्को समयमा प्रदेश सरकारसंगको समन्वयमा काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।
त्यसक्रममा गृहमन्त्री लेखकले प्रादेशिक आपतकालिन गोदाम घर मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा विपद न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.भीष्मकुमार भुषाल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्