तपाईँ सुन्दै हुनुहुन्छः

बदाम खेतीतर्फ पर्साका किसान आकर्षित  

बीरगंज । थोरै परिश्रममा धेरै आम्दानी लिन सकिने भएपछि पर्साका ग्रामीण क्षेत्रका किसानहरु बदाम खेतीतर्फ आकर्षित भएका छन् । 

नगदे बालीको रुपमा पर्साका ग्रामीण क्षेत्रका किसानहरुले बदाम खेती लगाउन थालेका छन् ।  ग्रामीण क्षेत्रको महादेवपट्टी, सुवर्णपुर, भिस्वा, पिडारी गुठी, लङ्गडी, सम्भौता लगायतका क्षेत्रमा बदाम खेती गरिएको छ ।

विगत केही वर्षदेखि वातावरण परिवर्तनसँगै बढ्दो वन विनाशका कारण खोलानाला सुक्दै गएर सुख्खाको मारमा परेका किसानहरुले विभिन्न बाली लगाउन थालेका छन् । जसमध्ये बदाम खेती एक प्रमुख खेती बन्दै गएको छ । 

अहिले महादेवपट्टीमा मात्रै करिब ३० बिघा भन्दा बढी जमिनमा बदाम खेती गरिएको छ । सुख्खा जमिन पानी नजम्ने बलौटे माटोमा बदाम खेतीको राम्रो उब्जनी हुने गरेको महादेवपट्टीका किसान प्रेम दासले बताउनुभयो । 

बदाम खेतीबाट प्रती कठा २० देखि ३० हजार सम्म आम्दानी गर्ने गरेको दासले बताउनुभयो । एउटा खेतमा एक बाली धान र दुई बाली बदाम निकाल्ने गरेको उनको भनाइ छ । 

बदाम खेती गर्दा मलको आवश्यकता नपर्ने र खेतमा उम्रिएका झारपातलाई नै कुहाएर राम्रो कम्पोस्ट मल तयारी गरी प्रयोग गर्ने गरेको अर्का किसान हेमन दहितले जानकारी दिनुभयो । 

बदाम खेतीमा किरा पठ्याङ्ग्रा समेत कम लाग्ने हुँदा किटनाशक औषधि समेत छर्न आवश्यक नहुने भएकाले न्यून खर्चमा ठुलो आम्दानी गर्ने गरेको किसानहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button