तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा सवा ६ अर्बको लसुन आयात, भन्सार विभागले सुरु गर्‍यो अनुसन्धान

काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को सात महिनामा नेपालमा कुल ६ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात भएको छ। यो अकल्पनीय मात्रामा भएको लसुनको आयातले आन्तरिक खपतमा बढोत्तरी भएको हो वा अन्य कुनै कारणले आयात भएको हो भन्ने आशङ्का उत्पन्न भएको छ। भन्सार विभागले पनि यसलाई अस्वाभाविक आयातको रूपमा हाइलाइट गरेको छ।

नेपालमा लसुनको आयात पाँच वर्षअघि आव २०७६र७७ मा मात्र ३१ करोड रुपियाँको भएको थियो। यद्यपि, चालु वर्षको पहिलो सात महिनामा ६ अर्ब २६ करोड रुपियाँ बराबरको लसुन आयात भएको छ, जसको कारण सरकारी निकायहरूले यसको आन्तरिक खपतको विश्लेषण गर्दै अनुसन्धान सुरु गरेका छन्।

यस अवधिमा नेपालले नौ लाख २० हजार रुपियाँ बराबरको लसुन निर्यात गरेको छ, तर बाँकी रहेको लसुन कहीं भण्डारण गरिएको देखिँदैन। नेपालमा चाउचाउ र अचार उद्योगले लसुनको ठूलो मात्रामा प्रयोग गर्दै आएको छ।

नेपाल दक्षिण एसियाली सौविध्यपूर्ण व्यापार व्यवस्था (साफ्टा)को सदस्य राष्ट्र भएको कारण विभिन्न देशबाट आयात भएको लसुन सहजै भारत निर्यात हुने सम्भावना छ। सरकारी निकायहरूले यसै कारणले नेपालको बाटो हुँदै चीनको लसुन भारत पुग्ने अनुमान गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button