तपाईँ सुन्दै हुनुहुन्छः

घाँस र चरिचरनको अभाव, संकटमा पशुपालन

मुगु । मुगु जिल्लाका विभिन्न स्थानमा पर्याप्त घाँसपात र उचित चरिचरनको अभावका कारण पशुपालन गर्न कठिन भएको छ। विशेष गरी छायाँनाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिकाका किसानहरू पशुचौपायालाई चराउन समस्या भोगिरहेका छन्।

घरमा जम्मा गरेको घाँस सकिने र बनपाखामा पनि घाँस नपलाउँदा फागुन र चैत महिनामा पशुचौपाया पाल्न झनै समस्या भएको स्थानीय किसानहरू बताउँछन्। यही समयमा धेरै पशुहरू खानको अभावमा मर्ने समेत गरेका छन्। पानी परे पनि सुख्खा जमिनका कारण घाँसको अभावले पशुहरूलाई घरमै राखेर पाल्नुपरेको छ।

“वर्षा ऋतुमा मात्रै केही सहजता आउने भए पनि त्यसपछि पुनः समस्या दोहोरिने गरेको छ,” छायाँनाथ रारा नगरपालिका वडा नं. ५ का कृषक कुमबहादुर कार्कीले भने। उनले घाँस नभएर आफ्ना पशुचौपाया अन्यत्र पाल्न पठाएको र वर्षा लागेपछि बनपाखामा घाँस पलाएपछि मात्र घरमा ल्याउने बताए।

जग्गा जमिन बढी हुनेलाई घाँसपात बढी हुने भएकाले केही सहज हुने भए पनि जग्गा कम हुनेलाई एक हल जोत्ने गोरु पाल्न पनि मुस्किल भएको छ। छायाँनाथकै अर्का कृषक पर्बुजङ्ग शाहीले घाँसपात नहुँदा आफूले एक हल गोरुबाहेक अरू पशुवस्तुको संख्या घटाइसकेको बताए।

घरमा घाँसपात र चराउने पर्याप्त बनपाखा नहुँदा मुगुका अधिकांश किसानहरूले गाई, गोरु, भैंसीलगायतका पशुहरूको संख्या घटाउँदै आएका छन्। यसले गर्दा गमगढी बजारमा न त डेरी छ न त पर्याप्त दूध नै पाइन्छ।

चरिचरन क्षेत्र अभावकै कारण किसानहरू खेत जोत्न एक हल गोरुबाहेक धेरैजसो किसानहरूले पशुपालन घटाउन बाध्य छन्। उचित योजना तथा सरकारी पहल नभए भविष्यमा पशुपालन व्यवसाय नै संकटमा पर्न सक्ने स्थानीयको गुनासो छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button