तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा अदुवाको उत्पादन निरन्तर ओरालो

सल्यान । बोसे जातको अदुवा उत्पादनको जिल्लाको रुपमा चिनिएको सल्यानमा पछिल्लो समय अदुवाको उत्पादनमा वर्षेनी गिरावट आइरहेको छ ।

बजारको सुनिश्चितता नहुनु, रोग किरा तथा जलवायु परिवर्तनको असरका कारण जिल्लामा अदुवा उत्पादन वर्षेनी घट्दै जान थालेको छ । 

कृषि विकास कार्यालय सल्यानको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा १ हजार ६ सय ७० हेक्टरमा अदुवा खेती हुँदा २६ हजार २ सय ७३ मेट्रिक टन उत्पादन भएको थियो । आ.व. २०८०/०८१ मा उत्पादनको क्षेत्रफल घटेर १ हजार ४ सय २० हेक्टरमा मात्र खेती भएको छ । जसमा २२ हजार १० मेट्रिक टन अदुवा उत्पादन भएको छ । चालु आ.व २०८१/०८२ मा १ हजार ४ सय २० हेक्टरमा खेती हुँदा २० हजार ९ सय ९ मेट्रिक टन अदुवा उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तीले जानकारी दिनु भयो । 

अदुवा उत्पादन हुने स्थानमा किसानले तरकारी खेतीलाई जोड दिनु, रोग किराको प्रकोप तथा सुख्खाका कारण यो वर्ष पनि अदुवाको उत्पादनमा गिरावट आएको उहाँको भनाई छ । उहाँले भन्नु भयो यो वर्ष अदुवाका लागि आवश्यक पर्ने समयमा पानी पर्न सकेन । जसका कारण जमिन धेरै सुख्खा हुन पुग्यो जसले अदुवामा रोग किराको आक्रमणमा पनि उत्तिकै भयो । 

उत्पादन भएको अदुवा मध्ये ८ हजार ९ मेट्रिक टन  अदुवा मात्र जिल्ला बाहिर निकासी हुने गर्दछ । सल्यानको अदुवा देशका विभिन्न जिल्ला सहित विदेशमा समेत निर्यात हुने गर्दछ ।

सल्यानको अदुवा विशेष गरी भारत निकासी हुने गर्दछ । भारतको माग धेरै हुँदा किसानले अदुवाको मूल्य पाउने र माग कम हुँदा कौडीको भाउमा बिक्री गर्नु पर्ने बाध्यता रहेको किसानको भनाई छ । अदुवामा लागेको लागत अनुसारको मूल्य नहुँदा किसानहरुले अदुवा खेतीबाट विमुख हुन थालेको किसानको भनाई छ । विगत दुई आर्थिक वर्षमा केही हदसम्म मूल्य पाएपनि लगानी अनुसारको मूल्य भने नपाएको किसान गोमा पुरीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button