तपाईँ सुन्दै हुनुहुन्छः

विकास र समृद्धिका लागि सबैले मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

धनगढी । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताका आशा, अपेक्षा, चाहानालाई प्राथमिकता दिएर विकास निर्माण अघि बढाउनुपर्ने बताउनुभएको छ । 

आज बेलौरीमा एकीकृत शहरी पूर्वाधार निर्माण कार्यको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले विकास र समृद्धिका लागि राजनैतिक दल, जनप्रतिनिधि लगायत सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले विकास निर्माणमा राजनीतिक पूर्वाग्रही नराखी मिलेर जाने संस्कारको विकास गर्न आवश्यक रहेको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले प्राप्त उपलब्धी र जनताका अधिकार रक्षाका लागि सबै सतर्क रहनुपर्ने बताउनुभयो ।

सरकार विकास, आर्थिक समृद्धि, सुशासनका क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्नुहुँदै उहाँले स्थिर सरकार र राजनैतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको बताउनुभयो । 

कार्यक्रममा संघीय सांसद तारालामा तामाङ, प्रदेशसभा सदस्य दिवानसिंह विष्ट लगायतले विकास कार्यमा एकजुट भएर जानुपर्ने बताउनुभयो । 

सो अवसरमा उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायी प्रकाश सेठीलाई सम्मानित गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button