तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा विद्यार्थीहरू पढ्दै कमाउँदै

गुल्मी । गुल्मीमा पछिल्लो समय विद्यार्थीहरू अध्ययन सँगै श्रम सँग जोडिएका छन् । कतिपय स्थानीय सरकारले पढ्दै कमाउँदै कार्यक्रम विद्यालयमा लागु गरेर समेत विद्यार्थीहरूलाई श्रम सँग जोडेका छन् । 

गुल्मी जिल्लाको मालिका गाउँपालिका ८ स्थित मालिका माध्यमिक विद्यालयमा विगत ५ वर्ष देखि प्राविधिक धार अन्तर्गत बाली विज्ञान विषय अध्यापन भइरहेको छ । त्यसैमाथि मालिका गाउँपालिकाले गत वर्ष देखि पढ्दै कमाउँदै सिक्दै कार्यक्रम लागू गरे सँगै प्राविधिक शिक्षा थप प्रभावकारी बन्दै गएको छ । 

मालिका माविका विद्यार्थीको हातमा हिजोआज कापी कलम सँगै कृषि औजार र उपकरण पनि हुने गर्दछ । किनकि ९ रोपनी जग्गामा विद्यार्थीलाई माछा ,च्याउ,आलु ,खाद्यान्न बाली तथा विभिन्न प्रजातिका तरकारी उत्पादन र बिक्री वितरण गर्न भ्याई नभ्याई छ ।

आधुनिक प्रविधि बाट कृषि गर्न सिक्नुका साथै शैक्षिक खर्च समेत जुट्ने गरेको विद्यार्थी नवीन पन्थी  बताउनुहुन्छ । अहिले ८२ जना विद्यार्थी पढ्दै कमाउँदै र सिक्दै कार्यक्रममा जोडिएका छन् । पढेर कृषि गर्दा लगानी कम लाग्ने ,उत्पादन धेरै हुने विद्यार्थीको अनुभव छ । यही अनुभवलाई आफूहरूले घरमा पनि अभ्यास गर्ने विद्यार्थी तुलसी ज्ञवाली बताउनुहुन्छ ।

वार्षिक करिब एक लाख लगानीबाट २ लाख १५ हजार बराबरको कृषि उपज आम्दानी हुने विद्यालयको अनुमान रहेको छ । पढ्दै कमाउँदै सिक्दै कार्यक्रमको राम्रो प्रभावले विद्यार्थीको आकर्षण बढेको प्राविधिक शिक्षक वसन्त पराजुलीले बताउनुभयो । 

पढ्दै कमाउँदै सिक्दै कार्यक्रमले दिवा खाजालाई अर्गानिक बनाउनुका साथै विद्यालय परिसर हराभरा र विद्यार्थीलाई श्रम सँग जोडेको छ । साथै शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गाउँपालिकाको उद्देश्य सफल हुँदै गएको पालिकाको दाबी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button