तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिको केन्द्र सधैँ जनता हुनुपर्छ : राष्ट्रपति 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकाङ्क्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डोहोर्याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । 

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा डोहोर्याउन सके मात्र व्यवस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको विकास र प्रगतिको लक्ष्य हासिल गर्न सकिने स्पष्ट पार्नुभयो । 

उहाँले राजनीतिको केन्द्र सदैव जनता हुनुपर्ने भन्दै त्यसका लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुने गरी उनीहरूको घरदैलोमा पुर्‍याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । 

उहाँले महेन्द्र नारायण निधिजस्ता नेताहरूको लोकतन्त्र प्रतिको निरन्तर सङ्घर्ष, त्याग र निष्ठाले नै आज हामी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो । 

कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा आफूलाई सधैँ समर्पित गर्ने नरेन्द्र प्रसाद मिश्र र शमा शाहीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button