पिएसबीको मर्मअनुसार प्रसारण सामग्रीलाई थप जनता केन्द्रित बनाउँदै लैजानुपर्छ : अध्यक्ष डा.विष्ट

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पिएसबीको मर्मअनुसार प्रसारण सामग्रीलाई थप जनता केन्द्रित बनाउँदै लैजानुपर्ने र त्यसका लागि कर्मचारीले आफूलाई रूपान्तरित गर्नुपर्ने बताउनुभएको छ ।
सार्वजनिक सेवा प्रसारण नेपालको आगामी कार्यदिशा सम्बन्धी आज रेडियो नेपालमा आयोजित अन्तरक्रियामा पिएसबीका कार्यकारी अध्यक्ष डा.विष्टले राष्ट्रिय एकता, समृद्धि र विपद्का विषयवस्तु पिएसविका प्रमुख प्रसारण विषयवस्तु रहने उल्लेख गर्नुहुँदै श्रोताका आवश्यकता र रुचिलाई सम्बोधन गर्न सक्नेगरी कर्मचारी समेत रूपान्तरण हुनुपर्ने बताउनुभयो ।
पिएसविले नेपाल टेलिभिजन र रेडियो नेपाल दुई संस्थाको एकीकरण गरेको नभई नयाँ संस्थामा रूपान्तरण गर्ने परिकल्पना गरेको उल्लेख गर्नुहुँदै कार्यकारी अध्यक्ष डा.विष्टले दर्शक र श्रोताले समेत रूपान्तरणको महशुस गर्ने गरी प्रसारण सामग्री, प्रस्तुति र कार्यशैलीमा रूपान्तरण गर्ने प्रयास भइरहेको बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले नयाँ व्यवस्थाले कर्मचारीमा परेको अन्यौल अन्त्य गरी कर्मचारीहरूलाई आफ्नो कामप्रति प्रोत्साहित यस्ता खालका अन्तरक्रियाले मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
भर्चुअल माध्यमबाट देशका विभिन्न भागमा कार्यरत कर्मचारीहरूको समेत संलग्नता रहेको अन्तरक्रियामा कर्मचारीहरूले पिएसबीको नियमावलीको अवस्था, कर्मचारी समायोजन प्रक्रिया, सेवा सुविधा, सङ्गठन संरचनालगायतका विषयमा विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो ।





प्रतिक्रिया राख्नुहोस्