बुर्तिवाङमा स्थलगत बहस : नयाँ सहरी आयोजना र ढोरपाटन सिकार आरक्षको कामप्रति स्थानीयको गुनासो
बागलुङ । ढोरपाटन सिकार आरक्ष र स्थानीय बिचको असमझदारीले मध्यवर्ती क्षेत्र घोषणा कार्यक्रम अलपत्र परेको छ ।

देशकै एकमात्र सिकार आरक्ष ढोरपाटनमा रेडियो नेपालले गरेको स्थलगत बहसमा स्थानीय र आरक्षबिच समन्वय नहुँदा मध्यवर्ती घोषणा कार्यक्रम नै अलपत्र परेको खुलेको हो । बहसमा ढोरपाटनका स्थानीयले सदियौँदेखि पुर्खाले जोगाएको आरक्ष क्षेत्रलाई मध्यवर्ती घोषणा गरेर राज्य दमनमा उत्रेको आरोप लगाएका थिए । आरक्ष क्षेत्रमा विकास निर्माणको काम गर्न नपाएको, चोरी सिकारी निरन्तर बढेको, सरकारी संयन्त्र समेत स्रोत दोहनमा लागेको लगायत आरोप स्थानीयले लगाएका छन् ।

जवाफमा ढोरपाटन शिकार आरक्षका निमित्त प्रमुख संरक्षण अधिकृत पशुपति अधिकारीले स्थानीयको असहयोग र समन्वय अभावमा चोरी शिकारी बढेको स्वीकार गर्नुभएको थियो । संरक्षण अधिकृत अधिकारीले मध्यवर्ती क्षेत्र घोषणा कार्यक्रम कार्यान्वयन नभएसम्म जनताको अपेक्षा पुरा हुन नसक्ने भन्दै कानून अभावमा स्थानीय सरकारसँग समेत समन्वय गर्न नसकिएको बताउनुभयो ।
सोही क्रममा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायत (कल्याण) ले आरक्षले नीति नियम देखाउने र स्थानीयले आफ्नो भोगाधिकार खोज्दा समस्या भएको भन्दै आगामी दिनमा नगरपालिकाले पनि समन्वयमा तदारुकता देखाउनु प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नेपाल सरकारले २०५२ सालदेखि नै मध्यवर्ती क्षेत्र अवधारणा ल्याए पनि स्थानीयको अवरोधका कारण हालसम्म सो योजना कार्यान्वयन हुन सकेको छैन । त्यस्तै मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ हुँदा बर्सेनी आउने करोडौँ बजेट स्थानीयको हितमा खर्च हुन नसकेको आरक्ष कार्यालयले जनाएको छ । आरक्षको तथ्यांकअनुसार विभिन्न स्रोतबाट ढोरपाटनमा वार्षिक २ देखि ३ करोड सम्म राजश्व सङ्कलन हुनेगरेको छ ।
त्यस्तै रेडियो नेपालको अर्को स्थलगत बहसमा नयाँ शहर आयोजना कार्यालय बुर्तिवाङले प्रभावकारी काम गर्न नसकेको सरोकारवालाले आरोप लगाएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडि लोकमार्ग नजिक १० नमुना शहर बनाउने योजना वि.सं. २०७२ बाट सुरु भएको र आयोजनामा हरेक वर्ष करोडौँको बजेट परे पनि अत्यावश्यकीय पूर्वाधार विकास हुन नसकेको स्थानीयले बताएका हुन् ।

तर पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट विनियोजन नहुँदा समस्या भएको आयोजना कार्यालयका निमित्त प्रमुख इन्जिनियर कोमलचन्द्र शाहले बताउनु भएको छ । बहसमा नागरिकहरूले साँघुरो बजारमा सडक पनि साँघुरो भएको, बसपार्क नदिकिनारमा बनाइएको, सिटी हल लगायत सरकारी भवन अपायक ठाउँमा भएको लगायत गुनासो गरेका थिए । जवाफमा इन्जिनियर साहले उपयुक्त निर्माण स्थल छनौटमा स्थानीयकै हात हुने भन्दै सीमित बजार क्षेत्र मात्रै भन्ने नबुझ्न र ठूलो क्षेत्रमा सहरको कल्पना गरिएको भन्दै विकेन्द्रित ढंगले भौतिक निर्माणको प्रयत्न भएको बताउनु भएको थियो ।
सङ्घीय सरकारले हाल सम्म सो आयोजनाका लागि करिब ७० करोड बढी रकम लगानी गरिसकेको छ । हालसम्म १७ किलोमिटर सडक ढलान, साँढे ६ किलोमिटर नाली निर्माण, एउटा पाँचतले भवन निर्माण, दुई सय ७२ वटा सौर्य बत्ती जडान र ५६ रोपनी जग्गा खरिद गरेको कार्यालयले जनाएको छ । हाल एउटा बसपार्क र पार्क निर्माणाधीन अवस्थामा रहेको छ । रकम अभावमा ल्याण्डफिल्ड साइट, हाट बजार, खेलमैदान, खानेपानी व्यवस्थापन लगायत महत्वपूर्ण कामहरू गर्न नसकेको आयोजनाले जनाएको छ ।
त्यस्तै बहसमा सहभागी हुँदै ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायत (कल्याण)ले नगरपालिका र नयाँ सहर आयोजना मिलेर काम गर्ने गरि समिति समेत गठन भएको बताउनु भएको छ । कार्यवाहक मेयर कायतले पहिले केही नमिलेको भए पनि अब दुवै सरकारी निकाय मिलेर आवश्यकता अनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बहसमा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले नगरपालिकाको परिचय दिँदै विकासले पारेको प्रभाव, सम्भावना र चुनौतीको जानकारी गराउनुभएको थियो ।
बहसमा उद्योग वाणिज्य संघ बुर्तिवाङका अध्यक्ष ढालेन्द्र छन्त्याल, राजनीतिकर्मी टंक पौडेल, ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा नं. ७ का अध्यक्ष धन बहादुर अदै, वडा नं. ७ का पूर्व अध्यक्ष तिलक थापा, स्थानीयहरू लक्ष्मी बानियाँ, शिव चालिसे, दल बहादुर भण्डारी, पूर्णपति कँडेल, राम घर्ती लगायतले भाग लिनुभएको थियो । भने पत्रकारहरू लोकेन्द्र सुनार, छविलाल पाण्डेले टिप्पणी तथा समीक्षा गर्नुभएको थियो ।
रेडियो नेपालको सो स्थलगत बहस कार्यक्रमको सहजिकरण कार्यक्रम अधिकृत भानुभक्त खड्का, मुकुन्द भण्डारी तथा स्थानीय संवाददाता कमल पौडेलले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्