पर्साका थारु महिलाले उत्पादन गरेको ढकिया विभिन्न देशहरूमा निर्यात

बीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाका थारु समुदायका महिलाहरूले आफ्नो सीप, कला, संस्कृतिलाई व्यवसायीकरण गर्दै आर्थिक आयआर्जनलाई पेसासँग जोडेर अगाडी बढेसँगै अहिले स्थानीय गृहिणीहरू घरधन्दा सकेर थप आयआर्जन गर्न सफल भएका छन् ।
थारू समुदाय भित्र रहेको मौलिक कला संस्कृतिहरू लोप हुने अवस्थामा पुगेको बेला पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतोको सक्रियतामा स्थानीय महिलाहरूले हातले बुनेर बनाएका कलात्मक ढकिया–पथीया लगायतका हस्तकलाका सामग्रीहरु अहिले अमेरिका, जापान, बेलायत, अष्ट्रेलिया, क्यानडालगायतका तेस्रो मुलुकमा समेत निर्यात हुन थालेका छन् ।
पटेर्वा सुगौली गाउँपालिकाका थारु महिलाहरूले घरधन्दाको काम सकेर फुर्सदको समयमा ढकिया, पथीया, मोना, टोपी, खुत्रुके, टिस्यु पेपर बक्स, पेन होल्डर,डस्टबिन बक्स, कमण्डललगायतका कलात्मक सामग्रीहरु व्यावसायिक रुपमा बनाउने गरेका छन् ।

गृहिणी महिलाले बुनेका ती सामग्रीहरु काठमाडौँ, पोखरालगायत देशका विभिन्न शहरका साथै विदेश समेत पुग्न थालेको छ ।
पटेर्वा सुगौली गाउँ पालिकामा झण्डै ८५ प्रतिशत थारु समुदायको बसोबास रहेको छ । थारु समुदायका महिलाहरूलाई नै लक्षित गर्दै वर्षौँदेखि प्रयोग र जीविकोपार्जन गर्दै आएका परम्परागत लोक कला संस्कृति, सीपहरूलाई व्यवसायीकरण र बजारीकरण गर्न गाउँपालिकाले सहयोग गरेसँगै अहिले पटेर्वा सुगौलीका महिलाहरूले निर्माण गरेका हस्तकलाका सामाग्री विदेश निर्यात हुन थालेको गाउँपालिकाका उपाध्यक्ष ममता महतोले बताउनुभयो ।
घरधन्दा र खेतबारीको काम सकेर बचेको फुर्सदको समयमा मात्रै ढकिया–पथीया बुन्दै आएकी पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ निवासी फूलकुमारी महतोले मासिक ३० हजारभन्दा बढी कमाउँदै आएको बताउनुभयो ।

गाउँपालिकाले तालिम दिएपछि ढकिया–पथीया बुन्न थालेकी बेलवा गाँउकी अर्की गृहिणी महिला रुकमणी देवी थारुले पनि राम्रै आयआर्जन गर्दै आएको बताउनुभयो ।
गाउँपालिकाका गृहिणी महिलाहरूलाई आफ्नो सीप र कलालाई देखाउन प्रोत्साहन गर्दै परम्परागत शैलीमा उत्पादन गरिने हस्तकला सामाग्रीलाई व्यवसायीकरण गरेपछि गाउँ पालिकाका झण्डै एक सय महिलाहरू स्वरोजगार बनेको उपाध्यक्ष थारुले बताउनुभयो ।
थारुको कला संस्कृति र सीपलाई उजागर र प्रोत्साहित गर्ने अभियान शुरु गरेसँगै यसले व्यावसायिकता हासिल गरेको र अहिले स्थानीय महिलाले उत्पादन गरेका हस्तकलाका सामाग्रीहरू अमेरिका र युरोपमा उच्च माग रहेको उपाध्यक्ष थारुले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्