तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम 

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबिच प्रश्नोत्तर कार्यक्रम भइरहेको छ ।सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सरकारले सडक र अस्पताल निर्माणलाई प्राथमिकताका साथ अगाडी बढाइरहेको बताउनुभयो ।

सांसद प्रकाश ज्वालाले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले निर्माण कार्य सुरु भएका अधिकांश सडकहरू यसै आर्थिक वर्षमा सकिने हुनाले बजेट विनियोजनमा विशेष ध्यान दिइने बताउनुभयो । उहाँले सरकारले स्वास्थ्य क्षेत्रलाईलाई प्राथमिकता दिएको र पालिकाहरूमा ५, १० र १५ शैयाका अस्पतालहरू निर्माण भइरहेको र अस्पतालको पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनका लागि उपलब्ध स्रोत र साधनको प्राथमिकताका साथ विनियोजन गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम प्रभावकारी सावित भएको र हालसम्म यसको प्रगति करिब ५८ प्रतिशत रहेको र अधिकांश सडकहरू यस आर्थिक वर्षमा नै सकिने भएकाले सरकारले उच्च प्राथमिकताका साथ बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।

नागढुङ्गा सुरुङ मार्ग ८५ प्रतिशत प्रगतिसहित निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको, राप्ती लोक मार्गमा ६० करोड बराबरको स्रोत सुनिश्चित गरी निर्माण कार्य अगाडी बढाइएको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । उहाँले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भैसकेको , सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधारका कार्य गरिरहेको बताउनुभयो

उहाँले सरकारले निर्धारण गरेको खरिद मूल्यमा उखु खरिद गरी कृषकलाई तुरुन्तै भुक्तानी दिन उखु मिलहरूलाई निर्देशन दिइएको, दुग्ध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थानले हालसम्म २ अर्ब ४ करोड रकम भुक्तानी दिइसकेको जानकारी गराउनुभयो ।

सांसद प्रतीक्षा तिवारीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले तराई मधेशमा रहेका आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको र  जयनगर–जनकपुर–कुर्था–विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माणकार्य सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।

उहाँले काठमाण्डौं–तराई मधेश द्रुत मार्गलाई शीघ्र सम्पन्न गर्न नेपाली सेनालाई जिम्मेवारी तोकिएको, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको निर्माण सम्पन्न भई भौतिक प्रगति ३५.१८ प्रतिशत रहेको जानकारी गराउनुभयो ।   

सांसद प्रतिमा गौतमको प्रश्नको जवाफमा सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजनाहरू समयमै सम्पन्न गर्न तथा  निर्माण व्यवसायीको भुक्तानीको समस्या समाधान गर्न पहल गरिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । 

उहाँले आर्थिक वर्ष २०८०-८१ को अन्त्यमा निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रहेको दायित्वमध्ये हालसम्म २२ अर्ब ४३ करोड ३६ लाख रुपैयाँ भुक्तानी भइसकेको जानकारी गराउनुभयो ।

सांसद वर्षमान पुनले सोधेको प्रश्नको जवाफमा  प्रधानमन्त्री आलीले चालु आर्थिक वर्षको ६ महिनाको पूँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको भन्दै अर्थतन्त्र सुधारका लागि गम्भीर रुपमा काम गरिरहेको र सुधारका केही नतिजाहरू देखिएको बताउनुभयो ।  

उहाँले कानुनमा भएका अप्ठ्याराहरूलाई पनि हटाएर अर्थतन्त्रलाई सुधार्ने, लगानीको वातावरण बनाउने, उत्पादन बढाउने काम गरिरहेका बताउनुभयो । उहाँले नागरिकलाई सेवा प्रवाहमा छरितोपन ल्याउन, लगानीको वातावरण बनाउन र अर्थतन्त्रका समस्या हटाएर सुधार तर्फ लैजान अध्यादेश ल्याउनु परेको स्पष्ट समेत पार्नुभयो ।

सांसद डा. प्रकाशशरण महतले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेटलाई प्राथमिकतामा आधारित र परिणाममुखी बनाउन तथा आर्थिक सुधारका कार्यक्रमहरू सञ्चालन गरी अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न सरकारले काम गर्ने बताउनुभयो ।

उहाँले विकास निर्माणका गतिविधिलाई तीव्रता दिन, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button