हाजिर रोकेको भन्दै वडाध्यक्ष माथि आक्रमण
बर्दिबास । महोत्तरीमा ढिला गरि विद्यालय आउने शिक्षकको हाजिर रोकेको भन्दै स्थानीयले वडाध्यक्ष माथि आक्रमण गरेका छन्।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष सिबजी महतोमाथि स्थानीयले आक्रमण गरेका हुन्। यस आक्रमणमा वडाध्यक्ष महतोको दाहिने हात मर्किएको छ।
नेपाल राष्ट्रिय आधारधुत विद्यालय विश्वम्भरपुरका शिक्षक कौशल विक्रम साह र सञ्जिव कुमार मण्डल बिहीबार विद्यालयमा ढिला गरि पुगेका थिए। वडाध्यक्ष महतोले विद्यालयमा किन सधैं ढिलो गरि आएका छन् भन्दै हाजिर गर्न रोक लगाएका थिए। यसै विषयमा विवाद हुँदा वडाध्यक्ष महतोमाथि कुटपिट भएको रामगोपालपुर नगरपालिकाका मेयर राम दुलार साहले जानकारी दिएका छन्।
वडाध्यक्ष महतोले हाजिर गर्न रोक लगाएपछि शिक्षक मण्डल गेट बाहिर निस्किएका थिए। त्यही बेला ढिला गरि आएका अर्का शिक्षक साहलाई पनि वडाध्यक्ष महतोले स्कूल प्रवेशमा रोक लगाएका थिए। यसपछि विवाद चुलिएको थियो। शिक्षकहरुले आफ्ना समर्थकहरुलाई बोलाएर वडाध्यक्ष महतोमाथि कुटपिट गराएको पीडित वडाध्यक्ष महतोले बताएका छन्।
स्थानीय महेश यादवका अनुसार, दुवै शिक्षक प्रायः सधैं विद्यालयमा ढिलो आउने गर्दछन्। विद्यालयमा १० बजे आउनु पर्ने शिक्षक साह र मण्डल बिहीबार साढे १० बजे पुगेका थिए।
वडाध्यक्षमाथि आक्रमण भएको बारेमा मौखिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले बताएका छन्। मेयर राम दुलार साहका अनुसार, वडाध्यक्षमाथि आक्रमण गर्नेलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।
प्रतिक्रिया राख्नुहोस्