सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने नरैनापुरमा मेला सुरु
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/IMG_4876-1024x683.jpg)
बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नं २ मियाँ पुर्वामा विगत डेढ सय वर्षदेखि हरेक बर्ष धर्मगुरुको सम्झनामा लाग्दै आएको मेला आज सोमबारबाट सुरु भएको छ ।
नरैनापुर गाउँपालिका वडा नम्बर २ को गङ्गापुर मियाँपुर्वामा आज देखि सुरु भएको मेलाको लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले उद्घाटन गर्नु भयो ।
१८ वर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/IMG_4814-1024x683.jpg)
नरैनापुरको मियाँपूर्वामा लाग्दै आएको मेलालाई महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा खलिफा नुर अहमद शाहको मेलालाई लिइन्छ । बाँके, बर्दिया, सुर्खेत र भारतको उत्तर प्रदेशका श्रद्धालुहरू ठूलो सङ्ख्यामा आउने भएकोले यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा उक्त मेलालाई लिने गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य नमुनाले नरैनापुरको मेलाले सामाजिक सद्भाव, संस्कार र संस्कृतिलाई एकापसमा जोड्ने काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यस मेलाले फरक समुदायलाई एकै ठाउँमा पनि जोडेको छ ।’
उद्घाटन कार्यक्रमका बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य एवं जनता समाजबादी पार्टी नेपालकी केन्द्रीय सदस्य अम्बिका काफलेले भन्नुभयो,“नरैनापुरको मेलाले विभिन्न समुदायलाई एकै ठाउँमा जमघट गराउने माध्यम बनाइदिएको रहेछ, सामाजिक सद्भावको विकास र केही नयाँ कुरा सिक्ने अवसर जुराएको छ, यहाँको सिकाइ अन्यत्र पनि प्रयोग गर्नु अति उपयोगी हुनेछ, यसले एकापसमा आत्मीयताको भावना बढाउँदै जानेछ ।”,
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/IMG_4871-1024x683.jpg)
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीले, सामाजिक रीतिरिवाज, सम्बन्ध स्थापना, अनुशासन, मेलमिलाप, आपसी सहयोगजस्ता सम्बन्ध मेलाले विस्तार गर्ने जिकिर गर्नु भयो ।
कार्यक्रममा बोल्दै जसपा नेपालका लुम्बिनी प्रदेशका मुख्य सचिव राजन राना मगरले“अन्य ठाउँको तुलनामा यहाँको मेला बेग्लै खालको पाइयो, नयाँ ठाउँ भए पनि नौलोपनको आभास भएन”, उहाँले भन्नुभयो, “भाइचाराको सम्बन्ध स्थापित, पारिवारिक र आनन्ददायी वातावरण देख्दै लोभलाग्दो छ, ऐतिहासिक र पौराणिक मेला भएको उल्लेख गर्नु भयो ।
नरैनापुर गाउँपालिका अध्यक्ष सैयद इश्तियाक अहमद शाहले भन्नुभयो, जन्म जन्मान्तरसम्म सामाजिक र धार्मिक दृष्टिले गरिएका सबै पाप नाश भएर जाने धार्मिक विश्वासले पनि यो मेलामा टाढा टाढाबाट श्रद्धालुहरू आउने गरेको जिकिर गर्नु भयो ।
उहाँले भन्नुभयो नरैनापुरमा रहेको धार्मिक स्थलहरूलाई पर्यटकीय गन्तव्य रुपमा विकास गर्न आफू लागी परेको बताउँदै प्रदेश र संघीय सरकारले सहयोग गर्न जरुरी रहेको बताउनु भएको थियो ।
सबै धर्मका मानिसहरू पुगेर रमाइलो गर्ने र आपसी सद्भाव बढाउने यो मेलाको विशेषता रहेको वडा अध्यक्ष मसूद अहमद शाहले बताउनुभयो । यसैगरी मेला स्थलमा रहेको खलिफा सैयद नुर अहमद शाहको मजारप्रति दर्शालुहरुको धार्मिक आस्था रहेकाले च्यादर चढाउने, भाकल हाल्नेहरूको पनि मेलामा भीड लाग्ने स्थानीय विनय दिक्षितले बताउनु भएको थियो । मेला एक सातामा सञ्चालन हुने वडा नं. १ का अध्यक्ष इसाक जोलाहले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्