फाइल अड्काउने प्रवृत्तिले भ्रष्टाचार बढेको छ : मुख्यमन्त्री सिंह
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कानूनले तोकेका अधिकारीले कानुनसम्मत काम नगरी फाइल अड्काउने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार हुने गरेको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसको अवसरमा आयोगको बर्दिबास कार्यालयले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उहाँले जनताको स्वास्थ्यसँग खेलबाड गर्ने स्वास्थ्य संस्थामाथि प्रदेश सरकारले कारबाही अघि बढाएको बताउनुभयो ।
उहाँले विभिन्न ऐन कानुनका कारण नेपालका प्राकृतिक श्रोतको सही सदुपयोग हुन नसकेको बताउनुभयो ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले भ्रष्टाचारका कारण गरिब र धनीबिच खाडल बढेकाले यसको नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अझै कडाइका साथ काम गर्न जरुरी रहेको बताउनुभयो ।

उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले सुशासनका लागि जनतालाई सहज र सरल तरिकाले सेवा तथा सुविधा प्रदान गर्न जरुरी रहेको बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख राम बहादुर कुरुवाङको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री सिंहले अख्तियार अनुसन्धान सेवा पुरस्कारबाट सिनियर डिभिजन इन्जिनियर प्रकाश चौधरी र अख्तियार सेवा पुरस्कारबाट जगतराजलाई सम्मान पत्रसहित नगद प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्