घान्द्रुकमा पर्यटन महोत्सव हुने
पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आउँदो फागुन ७ गतेदेखि तेस्रो घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ म पर्ने घान्द्रुकमा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा फागुन १० गतेसम्म उक्त महोत्सव हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
अफ सिजनमा गाउँ पर्यटनको प्रबद्र्धन गर्न उक्त महोत्सव आयोजना गर्न लागिएको घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत गुरुङले बताउनुभयो । मेश्रम बराह मावि घान्द्रुकको प्राङ्गणमा हुने महोत्सवमा क्लब स्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडा दौड, छेलो लगायतका प्रतियोगिता आयोजना हुने महोत्सव संयोजक गुरुङले जनाउनुभयो । ‘सबै मौसममा पर्यटन’ भन्ने नारालाई आत्मसाथ गर्दै ४ दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न खेलको साथमा दैनिक सांस्कृतिक कार्यक्रम आयोजना गरिने उहाँले जनाउनुभयो ।
क्लब स्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक एवम् महोत्सव संयोजक गुरुङले जानकारी दिनुभयो । क्लब स्तरीय भलिबल प्रतियोगितामा आठौँ र नवौं प्रतियोगितामा खेलेका २ जना खेलाडी मात्र समावेश गर्न पाईने आयोजकले जनाएको छ । यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको विजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै महोत्सवमा आयोजित घोडा दौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकहरूलाई २० प्रतिशत छुट र खेलाडीलाई ८ सय रुपैयाँको प्याकेजमा आवासीय सहितको खाजा खानाको प्याकेज दिने उहाँले जनाउनुभयो ।
पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा, बागलुङ सडक खण्डको नयाँ पुल, विरेठाटी हुँदै घान्द्रुक पुग्न सकिन्छ ।
प्रतिक्रिया राख्नुहोस्