सरकारले ब्रेक लागेका विकास निर्माणका कामलाई ब्रेक थ्रु गरेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रतिनिधिसभामा सम्बोधन (पुर्णपाठ)
काठमाडौँ I प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ब्रेक’ लगाएर राखिएका विकास निर्माणका कतिपय कामलाई थ्रु गर्दै अगाडी बढाएको बताउनुभएको छ ।
सङ्घीय संसद्को आजदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले काठमाडौँ–तराई द्रुतमार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ, जोगवनी–किमाथांका सडकमार्ग ब्रेक–थ्रु भएको, बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम द्रुत गतिमा अघि बढिरहेको र सुर्खेतमा आधुनिक कर्णाली रङ्गशाला तयार भएको जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले संसद् नभएका बेला राष्ट्रिय लक्ष्य प्राप्तिमा ढिला हुने भएकाले अध्यादेश ल्याउनुपरेको स्पष्ट पार्नुभयो ।
उहाँले अध्यादेशमार्फत तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्ने, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा सम्बन्धी, भूमि तथा वन सम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेश मार्फत संशोधन गरिएको जानकारी गराउनुभयो ।
उहाँले अध्यादेश मार्फत एकै पटक कानुन संशोधन गरिएपछि, सुशासन र व्यावसायिक वातावरण निर्माणमा ‘देशले अभूतपूर्व सुधारको थालनी’ गरेको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अव सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोकिने, नेपाली सूचना प्रविधिमा आधारित कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाइएको र उपभोक्ता हित संरक्षण सम्बन्धी आपसमा बाझिएका कानुनमध्ये अप्रासङ्गिक कानुन खारेज गरिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बारम्बार संसद् समक्ष विश्वासको मत लिइरहनुपर्ने अवस्थाबाट सरकार मुक्त भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालको यो ६ महिनामा बारम्बार विश्वासको मत लिनुपर्ने अवस्था अन्त्य भएको जानकारी गराउनुहुँदै जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरू वर्तमान सरकारको मेन्युमा नरहेको स्पष्ट गर्नुभयो ।
उहाँले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारमा रहेका नेपाली काँग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएर काम भइरहेको बताउनुभयो ।
बैठकमा दलीय आधार नेताहरूले धारणा राख्नेक्रम जारी रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रतिनिधिसभामा सम्बोधन (पुर्णपाठ)
प्रतिक्रिया राख्नुहोस्