तपाईँ सुन्दै हुनुहुन्छः

पाठेघरको मुखको क्यान्सरबाट जोगाउने एचपिभी खोप: भ्रम र सत्य

के हो एचपिभी भाईरस ? 

पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमणबाट हुने गर्दछ । यो रोग लागेपछि योनिबाट रगत आउने, तल्लो पेट दुख्ने, रक्त अल्पता हुने गर्दछ । यौन सम्पर्कबाट यो रोग सर्ने  गरेको स्वास्थ्य विज्ञहरूको भनाई छ ।  यो रोगको कारण नेपालमा अहिले पनि २ हजार १ सय ६९ जना संक्रमित भएको तथ्याङ्क रहेकाे छ। उक्त रोगको लागी एचपिभी खोप लगाउन थालेको हो । उक्त खोपले पाठेघरको क्यान्सरको संक्रमण रोक्ने विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टमा उल्लेख  छ । 

‘एचपिभी’ खोप कसरी ल्याइयो ? 

‘एचपिभी’ खोपका लागि ग्लोबल एलायन्स (गाभी) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याइएको हो । नेपाल सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यही माघ २२ गतेबाट खोप अभियान सञ्चालन गर्ने भएको छ । पन्ध्रदिने अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिनुभयो । 

खोप निःशुल्क

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताउनुभएको छ ।उहाँले पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताउनुभयो । सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उहाँले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बिमाको रकम समेत बढाउँदै आम नागरिकको उपचारमा खर्च गर्ने गरी सरकारले योजना बनाएको उल्लेख गर्नुभयो । 

विश्व स्वास्थ्य सङ्गठनको रिपोर्ट अनुसार: 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष नेपालमा २ हजार १ सय ६९ जना महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट सङ्क्रमित हुने गर्दछन् । हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सर बाट मृत्यु हुने गरेको छ  । जसअनुसार नेपालमा दैनिक ४ जना महिलाको मृत्यु हुनुको कारण पाठेघरको क्यान्सर हुने गरेको उल्लेख गरेको छ । महिलाहरूमा हुने क्यान्सरहरू मध्य पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ । क्यान्सरबाट महिलाहरूको मृत्यु हुने यो पहिलो कारण हो । नेपालमा गरिएका विभिन्न अध्ययनले क्यान्सर रोगको दर र जोखिम दिनानुदिन बढ्दै गएको देखाएका छन् । त्यसमा पनि महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुने गरेको पाइएको छ । ‘एचपिभी’ भाइरस मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कका क्रममा सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, श्लेष्म झिल्ली वा तरल पदार्थको सम्पर्कमार्फत सर्ने गरेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् । ह्युमनपापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेले हुने गर्दछ ।नेपालमा सबभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको छ ।

खोप कहाँ कहाँ पुग्यो  ? 

‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाप सातवटै प्रदेशमा पुगेको छ । खोप सबै प्रदेशमा पुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिनुभयो । उहाँले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल  आएको जानकारी दिनुभयो । सङ्घीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने जनाएको छ ।

कुन प्रदेशमा कति खोप ? 

महाशाखाका निर्देशक डा रायमाझीले कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ८० मात्रा, मधेशमा तीन लाख ८० हजार चार सय ६०, बागमती हेटौँडाका लागि एक लाख २५ हजार आठ सय, बागमती भक्तपुरका लागि दुई लाख १८ हजार दुई सय ८० मात्रा पठाइसकिएको जानकारी दिनुभयो ।  

गण्डकी प्रदेशमा एक लाख ३० हजार आठ सय ७० मात्रा, लुम्बिनीमा दुई लाख ९८ हजार नौ सय १० मात्रा, कर्णालीमा एक लाख २४ हजार चार सय मात्रा र सुदूरपश्चिममा एक लाख ८७ हजार एक सय २० मात्रा खोप पठाइएको छ । प्रदेशले खोपलाई सुरक्षित भण्डारण गर्ने र आआफ्नो जिल्लामा पठाउने उहाँले बताउनुभयो । उक्त खोप एक मात्रा लगाएपछि पुग्ने महाशाखाका निर्देशक डा रायमाझीले जानकारी दिनुभयो । 

काठमाडौँ र भक्तपुरमा कति ? 

अभियान अन्तर्गत काठमाडौँ जिल्लामा करिब एक लाख १० हजार २६३  किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) लगाइने भएको छ । काठमाडौँ महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी ५१ हजार ३४७ किशोरी र सबैभन्दा कम नागार्जुन नगरपालिकामा चार हजार ६५२ किशोरीलाई एचपिभी खोप दिइने भएको छ ।  भक्तपुर जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । भक्तपुरमा १० देखि १४ वर्ष उमेर समूहका किशोरीका पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिनुभयो । 

के भन्छ अध्ययन ? 

एचपीभी खोपले कैयौँ प्रकारका एचपीभी भाइरसबाट जोगाउँछ । तीमध्ये पाठेघरको मुखमा हुने क्यान्सर गराउने लगभग सबै भाइरस तथा मलद्वारको क्यान्सर गराउने अधिकांश अनि जननेन्द्रिय तथा टाउको र घाँटीको क्यान्सर गराउने केही भाइरस पर्छन् । अध्ययनहरूले खोपले एचपीभी सङ्क्रमणबाट कम्तीमा १० वर्ष जोगाउने देखाएका छन्। यद्यपि विज्ञहरू खोपले अझ लामो समय सुरक्षा दिने ठान्छन् । एचपीभी भाइरससँग संसर्गमा आउनुभन्दा अगावै किशोरकिशोरीलाई दिँदा यो खोप सबभन्दा प्रभावकारी हुने मानिन्छ । किनभने खोपले सङ्क्रमण हुनबाट मात्र जोगाउने हो। यदि उक्त भाइरस कसैको शरीरमा पहिलेदेखि नै छ भने यसले त्यसलाई शरीरबाट हटाइदिन सक्दैन।

त्यसैले यो खोप यौनिक क्रियाकलापमा संलग्न हुनुअगावै किशोरकिशोरीहरूलाई दिनु उपयुक्त हुन्छ । पुरुषहरूको शरीरमा पनि यो भाइरस हुने भए पनि अधिकांशमा यसको कुनै लक्षण देखिँदैन। कसैकसैलाई चाहिँ मुसा आउने वा कुनै किसिमको क्यान्सर हुनसक्छ । 

खोप लगाइसकेपछि  के हुन्छ ? 

यो खोपले पाठेघरको मुखको क्यान्सरलाई निकै हदसम्म रोके पनि यसले सबै प्रकारका एचपीभीबाट जोगाउँदैन । त्यसैले ३० वर्षको उमेर भइसकेका महिलाहरूले यसको नियमित परीक्षण गराउनु जरुरी हुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button