तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरी स्थानीयसँगै सीमा सुरक्षामा कटिबद्ध छ : उपरीक्षक पाण्डे


कपिलवस्तु । सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले स्थानीयसँगै सीमाको सुरक्षामा कटिबद्ध रहेको बताउनुभएको छ । आमनागरिकको सुरक्षासँगै सीमा सुरक्षा क्षेत्रको निगरानीमा समेत अहोरात्र खटिएको उहाँले जनाउनुभयो । कपिलवस्तुको बीओपी भिल्मीमा सशस्त्र प्रहरीसँगै सर्वसाधारणका लागि शुद्ध पिउने पानीको धारा मंगलबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रहरीसँगै स्थानीय बासिन्दालाई शुद्ध पिउने पानीको पहुँच उपलब्ध गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो । समुदायको स्वास्थ्य र जीवनस्तर सुधार्न यो धाराको निर्माणले महत्वपूर्ण योगदान गर्ने बताउँदै ग्रामिण क्षेत्रको विकासमा सशस्त्र प्रहरी बलको सक्रियता र जनसेवाप्रति सुरक्षा गर्न समेत उपरीक्षक पाण्डेले प्रतिबद्धता जाहेर गर्नुभयो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर, कपिलवस्तुले “Quick Impact Project (QIP)” कार्यक्रम अन्तर्गत शुद्ध पिउने पानीको धारा निर्माण गरिएको सशस्त्र प्रहरीले जनाएको छ । यसैबीच सशस्त्र प्रहरी निरीक्षक बिर्ख बहादुर भण्डारीले धारा शुद्ध पानीको आवश्यकता पूर्ति गर्न निर्माण गरिएको बताउनुभयो । धारा व्यवस्थापन गर्न स्थानीयहरुको अहम भुमिका रहेको जनाउँदै प्रभावकारी व्यवस्थापन र दिगो उपयोगका लागि उहाँले जोड दिनुभयो ।

परियोजनालाई सशस्त्र प्रहरी बलको जनमुखी सेवाभावको उत्कृष्ट उदाहरणका रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । स्थानीयको दैनिकीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै उनीहरूले शुद्ध पिउने पानीको अभाव हटेको उहाँले दावी गर्नुभयो । प्रहरीको सुरक्षामात्रै नभएर सामाजिक उत्तरदायित्व समेत रहेको उहाँको भनाइ छ । यस्तै कृष्णनगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जावेद आलम खा, महाराजगञ्ज नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राम रूप बढाई, समाजसेवी अब्दुल रकिब मुसलमान, अब्दुल एजाज मुसलमान लागयतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button