तपाईँ सुन्दै हुनुहुन्छः

‘वन्यजन्तु संरक्षण क्षेत्रको विकासका लागि समयानुकूल कानुन आवश्यक’

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रको विकास र समस्या समाधानका लागि समयानुकूल कानुन आवश्यक रहेकोमा जोड दिइएको छ ।

राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण क्षेत्रमा स्रोत साधनको व्यवस्था प्रभावकारी रुपमा नहुँदा आवश्यक पूर्वाधारको विकास, वन्यजन्तुको संरक्षण मध्यवर्ती क्षेत्रको समस्या समाधान लगायतका विषयमा समस्या भइरहेको विभिन्न राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रका वरिष्ठ संरक्षण अधिकृतहरूले बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकका विभिन्न राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतहरूले वातावरणको समुचित सन्तुलन हुने गरी समयानुकूल कानुन निर्माण त्यसको गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँहरूले राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा विकास विरोधी नभएको, त्यस क्षेत्रमा विकासका पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने, मध्यवर्ती क्षेत्रको विकास र समस्या समाधानका लागि विशेष खालका योजना सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रले प्रकृतिको संरक्षण, वन्यजन्तुको संरक्षण, पारिस्थितिक प्रणालीको सुरक्षा, पर्यटन प्रवर्द्धन, रोजगारीको सिर्जनामा महत्वपूर्ण योगदान गरिरहेको भन्दै यसलाई बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभयो ।

बैठकमा सांसदहरुले राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा भएका समस्या, राजस्व सङ्कलन, स्रोत व्यवस्थापनको अवस्था, मध्यवर्ती क्षेत्रको समस्या र त्यसको समाधानका लागि भइरहेका पहलका विषयमा जिज्ञासा राख्नुभएका थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button