गुल्मीमा राजनीतिक एवं सामाजिक व्यक्तित्वहरूको सम्झनामा पार्क निर्माण
गुल्मी । गुल्मीमा दिवङ्गत भएका राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको सम्झनामा पार्क निर्माण गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाद्वारा पूर्व सांसद स्वर्गीय रुद्रमणी शर्मा भण्डारी, पूर्व जिल्ला विकास समिति उपसभापति परमानन्द भण्डारी र पूर्व गाउँ विकास समिति अध्यक्ष लोमलाल पाण्डेको स्मृतिमा रुद्रमणी, परमानन्द, लोमलाल स्मृति पार्क निर्माण गरिएको हो ।
धुर्कोट गाउँपालिकाको ६७ लाख लागतमा वडा नं –५ स्थित बस्तुमा तीन जना सामाजिक व्यक्तित्वहरूको अर्ध कदको शालिक सहित पार्क निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिनुभयो ।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले पछिल्लो पिँढीले समाजमा योगदान गरेका व्यक्तिहरूको इतिहासलाई जीवन्त राख्न र राजनीतिमा लागेर पनि समाज परिवर्तनका लागि गरेको कामको उच्च मूल्याङ्कन गर्दै पालिकाको तर्फबाट उहाँहरूको सम्झनामा पार्क निर्माण गरिएको बताउनु भयो ।
सरल स्वभाव र सादगी जीवन व्यतीत गरि सामाजिक क्षेत्रमा सधैँ समर्पित रहनुभएका स्वर्गीय सांसद रुद्रमणी शर्मा भण्डारीको २०७५, जिविस उपसभापति परमानन्द भण्डारीको २०६६ र पूर्व गाविस अध्यक्ष पाण्डेको २०७१ सालमा असामयिक निधन भएको थियो । पालिकाले अग्रजहरूको सम्मानमा पार्क निर्माण गरेसँगै स्थानीयहरूले पनि उक्त कामको प्रशंसा गरेका छन् ।
उहाँहरूले राजनीतिक जीवनमा लागेर सामाजिक रूपान्तरण तथा विकास निर्माणमा महत्त्वपूर्ण योगदान पुराउनु भएको थियो । नव नर्तित पार्कको लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नु भएको थियो
।
मुख्यमन्त्री आचार्यले पछिल्लो समयमा समाजमा योगदान गरेका सामाजिक व्यक्तित्वहरूलाई बिस्तारै बिर्सँदै जान थालेको अवस्थामा धुर्कोट गाउँपालिकाले त्यस्ता राजनीतिक एवं सामाजिक व्यक्तित्वहरूको योगदानको कदर गरेको भन्दै पालिका प्रति आभार व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्