परम्परागत शैलीका हस्तकला सामाग्रीहरू लोप हुँदै
गुल्मी । पछिल्लो समय प्लास्टिकजन्य सामाग्रीहरूको बढी प्रयोगले परम्परागत शैलीका हस्तकला सामाग्रीहरू लोप हुन थालेका छन् ।
परम्परागत शैलीका हस्तकला सामाग्रीहरू प्रयोगमा कमी आएसँगै बिक्री वितरण हुन छोडेपछि हस्तकला सीप नै सङ्कटमा पर्ने भइरहेको छ ।
बजारमा पछिल्लो समय प्लास्टिकजन्य सामाग्रीहरूको प्रयोग बढ्दो छ । जसका कारण हस्तकला सीपबाट बनेको सामाग्रीहरू लोप हुनुसँगै परम्परागत पेशा पनि सङ्कटमा परेको छ ।
गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको माघी मेलामा व्यापारभन्दा सीपको संरक्षणलाई प्राथमिकता राखेका व्यवसायीहरू यही चिन्तामा छन् । रिडीमा अहिले माघी मेला लागिरहेको छ । मेलामा हुम्ला, जुम्ला, बाग्लुङ्ग र रुकुम पूर्वबाट व्यापारका लागी व्यवसायी आएका छन् । उनीहरूले मुख्य गरि बाँस तथा निगालोबाट बनाइने डोको, डाली, सुपो, काइँयो र मान्द्रो लगायतका सामाग्रीहरू निर्माण गर्छन् ।
त्यस्तै भेडाको उनबाट बनेका राडीपाखी, काम्ला, गलैँचाहरू र अल्लोबाट बनेका सामाग्रीहरू व्यापारका लागि ल्याएका छन् । प्लास्टिकको बढ्दो प्रयोगका कारण आफूहरूको समान बिक्री नहुने र सीपको संकट समेत हुने चिन्तामा रिडीमा आएका व्यवसायी खगेन्द्र विश्वकर्मा बताउनुहुन्छ ।
टाढा टाढाबाट आएका व्यवसायीहरू व्यापार गरेर मनग्ये आम्दानी गर्नेभन्दा पनि कालीगण्डकीमा स्नान गर्न मुख्य प्राथमिकता दिन्छन् । आफै आत्मनिर्भर बन्न, नदीमा स्नान गर्न, नमुनाको रुपमा निर्माण गरिएको तिनमुखे झोलुङ्गे पुल अवलोकन गर्न र धेरै पहिले देखिको रिडीको आत्मयितासँग जोडिन आउने गरेको व्यवसायी सुनपुरा बुढाको भनाइ छ ।
व्यवसायीमा आफ्ना चिन्ता र पिर मर्काहरू त एकातिर छन् नै त्यसैमाथि पुण्य कर्मका लागि रिडीमा आएका र आवतजावतको जोहोमा जुटेका व्यवसायीसँग मेला आयोजक संस्थाले चर्को मूल्य असुल गरिरहेका छन् । जसबाट व्यवसायी थप पिरलोमा परेको पदमबहादुर हमाल बताउनुहुन्छ ।
जुम्ला, हुम्ला, रुकुम पूर्व र बाग्लुङ्गबाट २५ वर्ष अगाडिदेखि रिडीमा लाग्ने मेलामा व्यवसायी आउने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्