तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायीक शिक्षा आजको आवश्यकता: मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले व्यवसायीक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । शुक्रबार हेटौँडा स्थित मकवानपुर बहुमुखी क्याम्पसमा स्थापना भएको वीजनस ईन्कुवेसन सेन्टरको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले समय अनुकूल गुणस्तरीय, व्यावहारिक र व्यवसायीक शिक्षालाई अंगाल्नुुपर्ने अनिवार्य आवश्यकता रहेको बताउनुभयो ।

मुख्यमन्त्री लामाले वर्तमान समयमा परम्परागत शैलीमा दिइएको ज्ञानले अर्थ नराख्ने भन्दै शिक्षालाई समय अनुसार परिवर्तन गरी व्यावसायिक र रोजगारमुखी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले व्यक्तिले आर्जन गरेको ज्ञानको उपयोग गरेर पेट पाल्न सक्ने स्थिति बनाउने व्यावहारिक शिक्षा आजको आवश्यकता भएको भन्दै यस सेन्टरले व्यवसायीक जनशक्ति उत्पादन गर्ने र विद्यार्थीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले व्यवसायीक जनशक्ति उत्पादनको क्षेत्रमा प्रदेश सरकार लगानी गर्न तयार रहेको समेत बताउनुभयो । 

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष डोरमणि पौडेलले नेपालमा केही गर्न सकिन्न, केही छैन भन्ने सोँच बदल्न जरुरी रहेको बताउनुभयो । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको लागि क्याम्पसमै सीप सिकाई आत्मनिर्भर बनाउने तथा रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको सेन्टरले व्यवसायीक जनशक्ति उत्पादन गरि देशमै बसेर केही गर्न सक्छौँ भन्ने सोचको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख एम सिलवालले विद्यार्थीमा पढाइसँगै सिप र रोजगारीको सृजना गर्ने, क्षमता अभिवृद्धिसँगै रोजगारी सृजना गर्ने, रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यका साथ ईक्युवेसन सेन्टर सञ्चालन गरिएको बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष अशोक शाक्यलगायत सदस्यहरु, शिक्षक, विद्यार्थीलगायत क्याम्पसका कर्मचारीहरूको उपस्थिति थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button