पूर्व उपाध्यक्ष रावललाई पार्टीको सङ्गठित सदस्य समेत नरहने गरी कारबाही गर्ने एमालेको निर्णय
केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते
काठमाडौँ । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले पार्टीको हित विपरितको गतिविधि गरेको भन्दै पार्टी पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीको सङ्गठित सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।
नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले नेता रावलका गतिविधिले पार्टीलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने देखिएकोले सङ्गठित सदस्यबाट हटाउने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै, बैठकले पार्टीको केन्द्रीय कार्यालय निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर यस अगाडि स्पष्टीकरण सोधिएका नेताहरू डा.बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई पार्टी निर्देशनमा चल्न थप निर्देशन दिँदै ६ महिनाका लागि पार्टीको जिम्मेवारीबाट हटाउने निर्णय समेत गरेकाे उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।
एमाले सचिवालय बैठकले यही पुस २१ र २२ गते पार्टीको केन्द्रीय कमिटी बोलाउने र बैठकमा विभिन्न चार वटा प्रस्तावहरूमाथि छलफल गर्ने पनि निर्णय गरेको छ ।
केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, पार्टीको सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोले विगतमा गरेका निर्णयहरूको अनुमोदन र समसामयिक प्रस्ताव गरी चार वटा प्रस्तावमाथि छलफल हुने कार्यसूची एमाले सचिवालयले निर्धारण गरेको छ ।
यस्तै आजको सचिवालय बैठकमा सरकारको पाँच महिनाको कार्यकालमा भएका कामकारबाहीको समीक्षा गर्नुका साथै सरकारका कामहरूमा थप गति दिनुपर्ने आवश्यकताको समेत बोध गरेको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्