तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षण तथा प्रचारप्रसारको अभावमा पर्साको बुलबुले ताल ओझेलमा 

वीरगंज  । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुर टाँडीमा रहेको जाडोमा तातोपानी आउने र गर्मीमा चिसो पानी आउने ऐतिहासिक बुलबुले ताल संरक्षणको साथै प्रचारप्रसारको अभावको कारण ओझेलमा परेको छ । 

करिब चार दशक अगाडी स्थानीय बासिन्दाको खानेपानीको प्रमुख स्रोतको रुपमा रहेको बुलबुले तालको स्वरूप अहिले सामान्य परिवर्तन भएपनि संरक्षण अभावमा जीर्ण बनेको छ भने पर्चा प्रसार नहुँदा ओझेलमा परेको छ । 

बुलबुले तालको पूर्वपट्टि अहिले भवरीमाई मन्दिर निर्माण गरिएको छ भने ताल नजिकै थारू सङ्ग्रहालयको निर्माण कार्य समेत भइरहेको छ । तालको पश्चिमतर्फ पार्क निर्माण भएको छ भने दक्षिणतर्फ विवाह मण्डप बनाइएको छ । 

पटेर्वासुगौली गाउँपालिकाले रङ्गपुरटाँडीमा लाग्ने हाटबजारलाई सोही ठाउँमा ल्याएर सञ्चालन गर्न संरचना निर्माण गरेको भएपनि ताल संरक्षणका लागि स्थानीय पालिका, केन्द्र तथा प्रदेश सरकारले कुनै पहल नगरेको पटेर्वा सुगौलीका सञ्चारकर्मी प्रमोद यादवले दुखेसो व्यक्त गर्नुभयो । 

बुलबुले तालबाट  गर्मीयाममा चिसो पानी र जाडो याममा तातो पानी निस्किँदै आएको उल्लेख गर्नुहुँदै तालबाट निस्किएको पानी स्थानीय जमुनिया खोला हुँदै बग्ने गरेको उहाँले बताउनुभयो । 

इलाका वन कार्यालय, रङ्गपुरटाँडीदेखि सय मिटरपूर्ण रहेको यो ताललाई संरक्षण संरक्षण गर्न नसक्दा ताल बेहाल अवस्थामा पुगेको छ । 

अहिले जाडो याममा तातोपानी आउने तालमा स्थानीयहरू नुहाउन पुग्ने भएपनि यसको प्रचारप्रसार हुन नसक्दा तालमा बाहिरबाट आन्तरिक तथा बाह्य पर्यटक आउन नसकेको सञ्चारकर्मी यादव बताउनुहुन्छ । 

तालको संरक्षणमा जुट्नुभएका स्थानीय बिगा सहनीने अहिले चिसो याममा तालबाट तातोपानी आउने र गर्मीयाममा चिसापानी निस्केन गरेको बताउँदै यसको प्रचारप्रसार नहुँदा पर्यटनको सम्भावना भएर पनि बुलबुले ताल आफैमा खुम्चिएको गुनासो गर्नुभयो । 

प्राचीन रुपमा रहेको ताल जसले जाडोमा तातो र गर्मीमा चिसो पानी दिन्छ । यसको संरक्षणका लागि अहिले गाउँपालिका जुटिरहेको पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता चौधरीले बताउनुभयो । 

४० बर्ष अगाडि यस क्षेत्रको पानीको प्रमुख स्रोतको रुपमा रहेको ताललाई संरक्षण गरी धार्मिक तथा पर्यटकीय हिसाबले समेत यो क्षेत्रको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने भएको हुँदा गाउँपालिकाले प्रदेश तथा संघीय सरकारसँग सहयोग जुटाएर तालको संरक्षण गर्ने कार्यमा अगाडी बढेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button