तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक– पूर्वमन्त्री शर्मा

दाङ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक स्थायित्व र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ दाङ शाखाबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आज घोराहीमा आयोजित कार्यक्रममा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहनुभएकी नेता शर्माले देशको विकासमा राजनीतिक अस्थिरता प्रमुख बाधक देखिएकाले तीन तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताउनुभएको हो ।

उहाँले विगतमा दुई तिहाइको सरकार हुँदा पनि राजनीतिक स्थायित्व हुन नसक्दा देशले सही गति लिन नसकेको जिकिर गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले यसलाई थप पुष्टि गरेको बताउनुभयो । 

स्थानीय सरकारमा निर्वाचित भएर आउने जनप्रतिनिधिले पाँच वर्ष ढुक्कका साथ काम गर्ने वातावरण रहेको उदाहरण दिँदै उहाँले संघ र प्रदेश सरकार सञ्चालनका लागि सबै राजनीतिक दलहरूको अबको प्रमुख एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्नेमा जोड दिनुभयो । 

आफु मन्त्री भएको बेला पत्रकारहरूको नजिक रहेको धेरै काम गरेको भन्दै उहाँले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा नवनिर्वाचित पत्रकार  महासङ्घका तर्फबाट आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्नुभयो ।  बधाई तथा शुभकामना कार्यक्रममा महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले देश र नागरिकको पक्षमा पत्रकार र मिडियाले गर्नुपर्ने दायित्व जिम्मेवारीपूर्वक वहन गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button