तपाईँ सुन्दै हुनुहुन्छः

किवी खेतीमा किसानको आकर्षण बढ्दो

\सल्यान । सल्यानमा किवी खेतीमा किसानको आकर्षण बढ्दो छ । किवीको मूल्य र बजार राम्रो भएपछि सल्यानका किसान व्यावसायिक किवी खेती तर्फ आकर्षित भएका हुन । 

जिल्लाको छत्रेश्वरी गाउँपालिका २ बुराँसे, बागचौर नगरपालिका-९ बथानका किसान व्यावसायिक किवी खेतीमा रमेका छन् । २०६६ सालदेखि १०० बोटबाट किवी खेती सुरु गर्नु भएको छत्रेश्वरी गाउँपालिका २ बराँसेका तेज बहादुर योगीले वार्षिक १५ देखि २० लाखसम्म आम्दानी गर्दै आइरहनु भएको छ । उहाँले भन्नु भयो ‘मैले अहिले ३५ रोपनी जमिनमा किवी खेती गरिरहेको छु । एक हजार ५० बोट मेरो बगैँचामा छन् । यो वर्षको हालसम्म मैले १४० क्विन्टल विक्री गरिसकेको छु । अझै बिक्री हुन बाँकी नै छ ।’ 

गत वर्ष तीन लाखको किवी बिक्री गर्नु भएका बराँसेकै चित्र बहादुर योगीले यो वर्ष गत वर्षको भन्दा डबल उत्पादन हुने अनुमान गरिएको बताउनु भयो । किवीको क्षेत्रफल विस्तार तथा उत्पादन पनि बढेका कारण यो वर्ष किवीको उत्पादन बढेको उहाँको भनाई छ । 

बराँसेका ८०/९० घरधुरीले नै व्यावसायिक किवी खेती गर्दै आइरहेका छन् । अन्नबाली तथा अन्न नगदेबाली भन्दा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिने किसानहरूको भनाई छ । किवीले राम्रो उत्पादन र बजार मूल्य पाउन थालेपछि बराँसेका सबैले किवी खेती गर्दै आइरहेको किसान चूडामणि बस्नेतको भनाई छ । उहाँले भन्नु भयो ‘१२ रोपनी क्षेत्रफलमा किवी लगाएको छ । गत वर्ष मात्र किवीका नयाँ १०० बोट रोपेको छु । आफ्नो बगैँचामा २ सय बोट रहेको र अहिले १ सय बोटले फल दिइरहेको छ ।’ 

किवी खेतीलाई प्रवद्र्धन गर्न किवी पकेट क्षेत्र निर्धारण गरी काम अघि बढाइरहेको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ । छत्रेश्वरी गाउँपालिकाको २ र बागचौर नगरपालिकाको ९ बथानलाई किवी पकेट क्षेत्र बनाएर काम अघि बढाइरहेको जिल्ला विकास कार्यालय सल्यानका कार्यालय प्रमुख महेश आचार्यले बताउनु भयो । उहाँका अनुसार जिल्लाभर २६ हेक्टर क्षेत्रफलमा वार्षिक १ सय ५० मेट्रिक टन किवी उत्पादन हुँदै आइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button