तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा भूकम्प अपडेट: दर्जनौँ घरमा क्षति  

बाजुरा । बाजुरामा आज बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ। बाजुराको जगन्नाथ गाउँपालिका स्थित गोत्री केन्द्रबिन्दु बनाएर आज बिहान गएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि  दर्जनौँ  घर चर्किएको  प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिनुभयो।  

 भौगोलिक रुपमा विकट हिमाली जिल्लामा रूपमा रहेका यहाँका स्थानीय पालिकामा आवतजावतमा समय लाग्ने भएकाले प्रहरीको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण सङ्कलन जारी रहेको  प्रमुख जिल्ला अधिकारी पाध्यायले बताउनुभयो ।

भूकम्पका कारण बूढीनन्दा नगरपालिका–४ मा घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको प्रहरी कार्यालय बाजुराले जनाएको छ।  

जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो। भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडी लगायतका  स्थानीय घरबाहिर निस्केर होहल्ला मच्चिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button