तपाईँ सुन्दै हुनुहुन्छः

औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती,उद्योगी व्यवसायी समस्यामा 

वीरगन्ज । नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेका छन् ।

बहुराष्ट्रिय कम्पनी सहित साना ठूला गरि १ हजार ४ सय भन्दाबढि उद्योग कलकारखाना रहेको वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा प्राधिकरणले मागअनुसारको विद्युत् आपूर्ति गर्न नसकेपछि विद्युत् कटौती गर्न थालेको हो । 

प्राधिकरणले अहिले बेलुकी ५ बजदेखि ९ बजेसम्मको ‘पिकआवर’मा औद्योगिक कोरिडोर क्षेत्रमा विद्युत् कटौती गर्दै आइरहेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले प्राधिकरणले विद्युत् कटौती गरेसँगै कोरिडोरका उद्योगले आफ्नो क्षमताअनुसार उत्पादन गर्न नसकेको बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विज्ञप्ति निकालेर अघोषित लोडसेडिङका कारणले उद्योगधन्दा सञ्चालनमा अप्ठेरो परेको जनाएको छ ।

विद्युत् कटौतीको बेला डिजेल प्लान्टबाट उद्योग सञ्चालन गर्नुपर्दा उत्पादन लागत बढ्न गई उद्योगहरूले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गएका र कतिपय उद्योग नै बन्द राख्नुपर्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

सङ्घका अध्यक्ष अग्रवालले विद्युतको समस्यालाई तत्कालै सम्बोधन गर्न प्राधिकरणसँग माग गर्नुभएको छ । 

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले साँझको पिकआवरको समयमा केही समय विद्युत् कटौती हुँदै आएको जानकारी दिँदै सकेसम्म विद्युत् कटौतीको समस्यालाई सम्बोधन गर्ने प्रयास भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button