चुरियामाई सुरुङ आज हस्तान्तरण गरिँदै
हेटौँडा । दक्षिण एसियाकै पहिलो सुरुङमार्गको रुपमा रहेको चुरियामाईको सुरुङ आज सोमबार विधिवत् रुपमा हेटौँडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिँदै छ । हस्तान्तरणपछि सुरुङलाई पर्यटकीयस्थलको रुपमा सञ्चालन गर्ने उपमहानगरको योजना छ ।
वर्षौँदेखि जीर्ण सुरुङको पुनः निर्माणपछि बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सोमबार उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गर्न लागेको निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोख्रेलले जानकारी दिए । सुरुङको पुनःनिर्माण एक वर्षअघि नै सम्पन्न भइसकेको थियो । तर, प्राविधिक कारण देखाएर निर्देशनालयले उपमहानगरलाई हस्तान्तरण गर्न सकेको थिएन ।
‘हामीले एकवर्ष अगाडि नै पुनःनिर्माण गरिसकेका थियौँ । प्राविधिक कारणले हस्तान्तरण हुन नसकी ढोका बन्द गरेर राख्नुपरेको थियो’ पोख्रेलले भने । निर्देशक पोख्रेलले उपमहानगर र निर्देशनालयबिच सहमति भएअनुसार मर्मतसम्भार प्रदेश सरकारले गर्ने उल्लेख गरिएको छ । उपमहानगरले नै कर/शुल्क सङ्कलन गर्नेछ ।
उपमहानगरपालिकाले चुरियामाई सुरुङलाई पर्यटकीय स्थलका रुपमा सञ्चालन गर्न कार्यविधि निर्माण गरिसकेको छ । कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग· र जेष्ठनागरिकलाई निःशुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको उपमहानगरका प्रवक्ता तथा वडा नम्बर-१ का अध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो ।
चुरियामाई सुरुङ सञ्चालन कार्यविधि बनाएर उपमहानगरले पर्यटकीयस्थलको रुपमा विकसित गर्ने गरी अगाडि बढेको प्रवक्ता न्यौपानेले बताए । ‘प्रदेशबाट हामीलाई हस्तान्तरण भएपछि प्रक्रिया पुर्याएर तत्कालै सञ्चालन हुनेछ ।’ उहाँले भन्नुभयो । उपमहानगरपालिकालाई हस्तान्तरण भएपछि सम्बन्धित समितिलाई नै सञ्चालनका लागि हस्तान्तरण गर्न सक्ने कार्यविधि नगरपालिकाले बनाएको छ । ऐतिहासिक सुरुङ अवलोकनका लागि आन्तरिक एव बाह्य पर्यटक आउने चुरियामाई संरक्षण समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिका र बारा जिल्लासम्म सीमा जोडिने चुरियामाई मन्दिरमा बनाइएको सुरुङ भग्नावशेष थियो । भग्नावशेष सुरुङलाई पुरानै अवस्थामा ल्याउन प्रदेश सरकारले काम गरेको हो । बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक चुरियामाई सुरुङको पुनःनिर्माण थालेका थिए । २०७८ साउनमा थालिएको पुनःनिर्माण २०८० असार अगाडि नै सकिएको थियो ।
१०६ वर्ष पुरानो सुरुङ पुनःनिर्माण गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले माउण्टेन इन्फ्रा कम्पनीसँग ३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागत सम्झौता गरेको थियो । सुरुङको पुनःनिर्माण २०७९ वैशाखसम्म सक्ने भनिएता पनि पटक–पटक म्याद थपेर हालसम्म काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
श्री ३ चन्द्रशमशेरको पालामा वि.सं. १९७४ सालमा नेपाली सेनाका इन्जिनियर डिल्ली ज· थापाले सुरुङमार्ग निर्माण गरेका थिए । सुरुङ नेपाली प्रविधि प्रयोग गरेर थापाले निर्माण गराएका थिए । करिब ५ सय मिटर लामो सुरुङ मकवानपुरतर्फबाट प्रवेश गरेर बारा पुगिन्थ्यो । त्यतिबेला भारतबाट हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ पुर्याउने साना सवारीसाधन ल्याउन सुरुङ बनाइएको थियो ।
प्रजातन्त्र पुनःस्थापनापछि त्रिभुवन राजपथ बनेर ठूला–ठूला सवारी साधनहरू भित्रिएपछि सुरुङ छेवैबाट चुरे पहाड फोडेर सडक बनाइएको थियो । सडक निर्माण भएपछि सुरुङ प्रयोगमा आएन र लामो समयदेखि सुरुङ भग्नावशेष भइरहेको थियो । सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाई ३ मिटर ३० सेन्टिमिटर रहेको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । मकवानपुरतर्फको सुरुङको प्रवेशद्वारालाई सडक बिस्तारको सम्भावनाले भित्र लगेको देखिन्छ । बारातर्फको प्रवेशद्वार भने पुरानै अवस्थाको हुने जनाइएको छ ।
पहाड खोपेर बनाइएको सुरुङमा चुना, सुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुङ्गा राखिएको छ, खोपाहरू कुँदिएका छन् । सुरुङमार्ग पुनः निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिने जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्