तपाईँ सुन्दै हुनुहुन्छः

म्यागङ गाउँपालिकाको सेवा सुविधा सम्पन्न नयाँ भवनबाट

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकाको सेवा नवनिर्मित भवनबाट सुरु भएको छ ।सात करोड ३६ लाख लगानीमा निर्माण भएको उक्त सुविधा सम्पन्न प्रमुख प्रशासकीय भवनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)बाट अनुगमन गराई गाउँपालिकाले नयाँ भवनबाट सेवा  प्रवाह गर्न सुरु गरेको हो  ।

राज्य पुनर्संरचना पश्चात् विभिन्न पाचवटा वडा मिलेर बनेको म्यागङ गाउँपालिकाले साबिकको देउराली गाविसको भवनबाट सेवा दिँदै आएकोमा म्यागङ–३ स्थित मानेब्ले (माने पाखा)मा सुविधा सम्पन्न बहुविपद्‌ प्रतिरोधी नयाँ भवन सञ्चालनमा ल्याइएको हो ।

नवनिर्मित भवन मार्फत पालिकाले दिने सेवा प्रवाहमा छिटो, छरितो र थप गुणस्तरिय हुने विश्वास मुख्यमन्त्री तामाङले ब्यक्त गर्नुभयो । पालिकाको भवन निर्माण भएको स्थानसम्म पुग्ने सडकको बागमती प्रदेश सरकार मार्फत कालोपत्रे गरिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

“गाँउगाँउमा सिंहदरबार ः घरघरमा सरकार भन्ने नारा सार्थक बनाउन पालिकाले आफ्नो भुगोलको आर्थिक गतिविधि चलायमान बनाउन लाग्नुपर्छ ।” मुख्यमन्त्री तामाङले भन्नुभयो “म्यागङको ब्राण्ड –पहिचान) बनेको सुन्तला, किवि र चिया खेती तथा ट्राउट माछा पालनलाई विस्तारसहित व्यावसायिक बनाउन लक्ष्य निर्धारण गर्नुपर्छ ।”

उक्त अवसरमा बागमती प्रदेससभा सदस्य तथा नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले जनताको माग अनुसार तीनतहका सरकारले सेवा प्रवाह गर्नुपर्ने सुझाब दिनुभयो । सरकारले दिएका सेवाबाट जनतालाई सन्तुष्टि दिन सकिएको छैन । गुणस्तरीय शिक्षा र स्वास्थ्य दिएर रोजगारको सिर्जना मार्फत आर्थिक रुपमा सम्मुन्नत बनाउन शासन सञ्चालन गर्नेले ध्यान दिनुपर्ने उहाको सुझाब छ ।

विगतमा साघुँरो भवनबाट कठिनाईका साथ दिनुपरेको सेवा नयाँ भवनबाट उपलब्ध हुदाँ निकै सुधार ल्याउने पालिका अध्यक्ष आशा तामाङले प्रतिबद्धता जनाउनुभयो ।

नयाँ भवन निर्माणमा लागी गाँउपालिकाबाट रु तीन करोड ६१ लाख, जिल्ला समन्वय समितिबाट एक करोड २५ लाख र अपुग हुन आएको रकम रु दुई करोड ५० लाख संघीय सरकारबाट प्राप्त भएको उपाध्यक्ष सिता तामाङले जानकारी दिनुभयो । वि.सं.२०७८ साउनमा भएको सम्झौता अनुसार दुईवर्ष भित्र सम्पन्न गर्नुपर्ने भवन खर्च अभावले ढिलो सम्पन्न भएको हो ।

नवनिर्मित भवनमा पालिकाले दिने सेवाका लागी आवश्यक सबै संरचना निर्माण गरिएका छन् । पालिकाको नयाँ भवन यहाँ रहेका छ वटै वडाको मध्येबिन्दुमा अवस्थित भएकाले पालिकाबासीलाई सेवा लिन सहज हुने प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार अधिकारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button