तपाईँ सुन्दै हुनुहुन्छः

कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग मन्त्री पौडेलको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशमा बालबालिकाको उपचार हुने विशिष्टीकृत अस्पताल कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गरेका गर्नुभएको छ । 

बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा उपचार विस्तार गर्नका लागि भवनसहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डिपिआर निर्माण गरेर योजना अघि बढाएको छ । यसमा मित्र राष्ट्र कतारबाट नेपालले सहयोग अपेक्षा गरेको मन्त्री पौडेलले बताउनुभयो । 

कतारी राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँगको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको स्वास्थ्य सुधारलाई सरकारले प्राथमिकता राखेको भन्दै अस्पतालको पूर्वाधार विकासमा कतारबाट साथ अपेक्षा गरेको बताउनुभयो । 

कतारको विकासमा नेपाली नागरिकको योगदान रहेको चर्चा गर्दै मन्त्री पौडेलले कतारले समेत नेपालको विकासमा साथ दिएकामा प्रशंसा गर्नुभयो । 

कतारी राजदूत अन्सारीले दुई देशबीचको सम्बन्ध असल रहेको भन्दै सहयोगका क्षेत्र विस्तार गर्न चाहेको बताउनुभयो ।

कतार सरकारको सहयोग संस्था कतार च्यारिटीले नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोगका लागि समेत काम गरिरहेको राजदूत अन्सारीले बताउनुभयो । उहाँले नेपाली बालबालिकाको स्तरीय उपचार सेवाका लागि कान्ति अस्पतालका लागि सहयोग गर्न सकारात्मक रहेको बताउनुभएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button