सरकारले शिक्षक दरबन्दी पुनरावलोकन गर्दै
काठमाडौँ । सरकारले शिक्षक दरबन्दी पुनरावलोकनका लागि कार्यदल बनाएर काम अघि बढाएको छ ।
विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कार्यदलले दिने सुझाबका आधारमा शिक्षक दरबन्दी मिलान गरिने जानकारी गराउनुभयो ।
चौमासिक रुपमा तलब पाउँदै आएका शिक्षकहरूलाई हाल मासिक तलव निकासा गर्न थालिएको जानकारी दिनुहुँदै शिक्षा मन्त्री भट्टराईले इसिडी पढाउने शिक्षकहरूको समेत उचित व्यवस्थापन गर्न लागिएको जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयको जग्गा विवाद समाधान गर्न गठित छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी दिनुहुँदै मन्त्री भट्टराईले आवश्यक परे जग्गा विवाद समाधान गर्न थप अध्ययन र छानविन गर्न सकिने स्पष्ट पार्नुभयो ।
समितिको बैठकमा सांसदहरु देवेन्द्र पौडेल, ज्ञानु सुवेदी, विनिता सिंह, डाक्टर तोषिमा कार्कीलगायतले आम नागरिकलाई सर्वसुलभ शिक्षा व्यवस्थाका लागि विधेयक स्पष्ट हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
समितिको आजको बैठकले सभापति अम्बरबहादुर थापाको संयोजकत्वमा सांसदहरु छविलाल विश्वकर्मा, देवेन्द्र पौडेल, डिगबहादुर लिम्बु, रामप्रकाश चौधरी, डाक्टर तोषिमा कार्की, र विना जैसवाल सदस्य रहेको परामर्श तथा समन्वयन उपसमिति गठन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्