तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकप्रति उत्तरदायी भएर काम गर्न मन्त्री यादवको निर्देशन

पर्सा । खानेपानी मन्त्री प्रदीप यादवले नागरिकप्रति जनमुखी एवं उत्तरदायी भएर खानेपानीका क्षेत्रमा काम गर्न निर्देशन दिनुभएको छ ।

आज पर्सास्थित नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले नेपाल सरकारको प्रमुख लक्ष्य भनेको नागरिकलाई शुद्ध, सफा र सुरक्षित खानेपानी उपलब्ध गराउने भएकाले सोही अनुसार पानी वितरण गर्नसमेत निर्देशन दिनुभयो ।

सोही क्रममा मन्त्री यादवले ‘सरकार एक घर, एक धारा’ भन्ने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन लागि परेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक घर, एक धारा भन्ने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन हामी लागि परेका छौँ, मन्त्रालय सबैमा खानेपानी र सरसफाइको पहुँच पुग्ने गरि कार्ययोजना तयार गरिरहेको छ ।”

खानेपानी संस्थान वीरगञ्ज शाखाअन्तर्गतमा विनियोजित भएको बजेटलाई छिटोछरितो तरिकामा बोलपत्र आह्वान गरी कार्य अगाडि बढाउन र ‘टेन्डर’ प्रक्रिया सुरु भई सम्झौताको चरणमा रहेका खानेपानीका योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनसमेत मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिनुभयो ।

सो क्रममा नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका प्रमुख प्रवीणकुमार साहले वीरगञ्ज महानगरपालिका भरिमा कुल ११ हजार चार सय ५० खानेपानीका ग्राहक रहेका र उनीहरुलाई शुद्ध, सफा पानी वितरण गरिँदै आएको जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button