झ्याउरे छन्दलय सम्प्रवर्धन गर्नु नेपाली मौलिकता बचाउनु हो : कुलपति राई

काठमाडौँ । नेपाली मौलिक झ्याउरे छन्दलयको उत्थान गर्ने ध्येयले नेपाल प्रज्ञा–प्रतिष्ठान र काव्य घर नेपाल मिडिया प्रा.लि.को सहकार्यमा ‘झ्याउरे छन्दलय कविता लेखन’विषयक विमर्श कार्यक्रमको आयोजना सोमवार प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा भएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले झ्याउरे छन्द नेपालको मौलिक छन्द भएको बताउनुभयो । जुन मानव सभ्यता सुरु भएदेखि नै झ्याउरे छन्दलय पुस्तान्तरण हुँदै आएको र हाम्रा वेद ,ऋचा र मुन्धुम लगायतका कैयौँ ग्रन्थहरू लयबद्ध भएकाले नै सहज रूपमा पुस्तान्तरण हुन सकेको चर्चा गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचेको मुनामदनले झ्याउरे छन्द स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुलपति राईले बताउनुभयो ।
झ्याउरे छन्दलयमा लेखिएको ‘मञ्जरी’ गीतिकविताको लोकार्पण गर्ने क्रममा आफ्नो मन्तव्यका क्रममा उहाँले नेपाली मौलिक झ्याउरे छन्दलयकी अभियन्ता कवियत्री रेणुका भट्टराईले झ्याउरे छन्द पुनर्जागृत गर्न खेलेको भूमिका स्तुति रहेको बताउँदै झ्याउरे छन्दको सम्प्रवर्धन गर्नु भनेको नेपाली मौलिकता बचाउनु भएको उहाँले बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा पद्य काव्य विभाग प्रमुख बाबा बस्नेतले मौलिक नेपाली झ्याउरे छन्दलयको जगेर्ना गर्न प्रज्ञा–प्रतिष्ठान प्रतिबद्ध रहेको बताउँदै आफूले पनि झ्याउरे छन्दलयमा लोकगीत र झ्याउरे गीत गाएको बताउनु भयो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष तथा स्रष्टा हरि मञ्जुश्रीले पौराणिक ग्रन्थ यजुर्वेद र सामवेद लगायतमा झ्याउरे छन्दलय रहेको चर्चा गर्दै झ्याउरे विधासँग सम्बन्धित सङ्गिनी, ख्याली, खैँजडी ,भजन र मारुनी भाकाको संवर्धन गर्ने बारे जोड दिनुभयो ।
प्रा.डा. राजाराम सुवेदीले नेपाली इतिहासका कतिपय कुराको खोजी गर्ने हो भने झ्याउरे भाकामा गाएको पाइन्छ । मूलतः गाउँघरका मौखिक गीतहरू पुस्तान्तरण हुँदै आएका छन् र तिनमा पनि झ्याउरे छन्दलय रहेको बताउनु भएको थियो । यसैगरी जनगायक जीवन शर्मा, अब हामीले देशको झ्याउरे लेखौँ र यसलाई विश्वमा लैजाऔँ भन्ने धारणा राख्नु भयो।
यसैगरी संस्कृतविद् प्रा डा बीणा पौड्यालले हाम्रो धर्म संस्कृति र परम्परामा पनि झ्याउरे प्रचलनमा रहेका तर झ्याउरे नै हो भनि इतिहासमा समेत प्रष्ट नभएकाले अब यस विषयमा बहस जरुरी रहेको बताउनु भयो। त्यस्तै अर्का वक्ता लोकसाहित्यविद् ,प्रा.डा ध्रुव भट्टराईले हामीले लोक साहित्यमा पढ्दै आयौँ र पढाउँदै आयौँ तर कुन लोक साहित्यको कुन लोकगीत कुन झ्याउरे के हो रु भनेर नछुटिएको अवस्थामा वास्तवमा झ्याउरे जनबोली लोक साहित्य हो । यसको मूल जरो भनेको झ्याउरे नै हो भन्दै अब झ्याउरेका विषयमा खोजी अनुसन्धान गर्न जरुरी रहेको बताउँदै मुनामदनको झ्याउरे लय लोकप्रिय लय भएकाले नै झ्याउरेको महत्त्व झनै बढाएको बारे चर्चा गर्नुभयो । भाषाविद् चुनामणि गौतमलगायतले मौलिक नेपाली झ्याउरे छन्दलयका बारेमा आआफ्नो धारणा राख्नु भयो।
काव्य घर नेपाल मिडिया प्रालिका अध्यक्ष ,झ्याउरे छन्दलय अभियन्ता तथा कवियत्री रेणुका भट्टराई मञ्जरीले स्वागत मन्तव्यसँगै कार्यक्रमको ओैचित्यबारे प्रकाश पार्नु भएको थियो । उहाँले नेपाली शब्दकोशमा झ्याउरे शब्दलाई हेपेर लेखेको भन्दै त्यसलाई सच्याउनु पर्ने धारणा राख्नु भएको थियो । भट्टराईले नेपालीको मौलिक लय झ्याउरे विधाको प्रभाव र छाप धर्म,संस्कृति,संस्कार र परम्परामा पनि रहेको उल्लेख गर्दै झ्याउरे लय र समग्र झ्याउरेको विषयमा खोजी गर्नु पर्ने हामीबिच प्रश्न खडा भएको छ भन्दै नेपालीको पहिचान भनेकै झ्याउरे हो । यसलाई विश्वमा लिएर जान र प्रवर्धनका लागि आवाज उठाउन प्रतिष्ठानसँग सहकार्य गरिएको प्रष्ट पार्नु भएको थियो । यसैबिच भट्टराईको शब्द,सङ्गीत र स्वरमा मञ्जरी झ्याउरे गीतिकविताको अडियो समेत सार्वजनिक भएको थियो ।
कवियत्री भैरवी भूगोलको उद्घोषण रहेको उक्त कार्यक्रममा इन्दिरा ढकाल, पवित्रा दाहालको झ्याउरे कविता शान्ति पौडेलले , ढुण्डीराज पोखरेल, नरहरि प्रेमी र डाक्टर जनपाली लगायतले ‘झ्याउरे छन्दलयका कविता वाचन गर्नु भएको थियो । अन्तिममा दस मिनेट प्रश्नोत्तरको तथा विमर्श कार्यक्रम राखिएको थियो। यस विमर्शमा वरिष्ठ पत्रकार तथा गीतकार गोपाल थपलिया लगायतका प्रश्नको उत्तर वक्ताहरूले दिनु भएको थियो ।
इतिहासमा नै यस किसिमको कार्यक्रम हुनु भनेको आफैँमा ऐतिहासिकता झल्किएको सहभागी रहेका स्रष्टा द्रष्टा व्यक्तित्वहरूको भनाइ रहेको थियो । कार्यक्रममा करिब एक सय जति सर्जक र विधागत विशेषज्ञहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्