मुख्यमन्त्री काकीद्वारा शताक्षीधाम मन्दिर परिसरमा निर्मित ८७ धाराको उद्घाटन
दमक, झापा । झापाको सताक्षीधाम मन्दिर परिसरमा निर्मित ८७ धाराको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ ।
सताक्षीधाम आउने तीर्थालुका लागि स्नान गर्न मिल्ने गरी निर्माण गरिएको ८७ धाराबाट बग्ने जल अभिषेक गर्दै मुख्यमन्त्री कार्कीले धाराको आज उद्घाटन गर्नुभयो ।
धाराको उद्घाटनमा मुख्यमन्त्री कार्कीले कोशी सरकारले पर्यटन क्षेत्रको विकासका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।
२०८२ साललाई कोशी प्रदेश भ्रमण वर्ष मनाउने तयारी भइरहेको भन्दै मुख्यमन्त्री कार्कीले यस्ता धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएका क्षेत्रहरूको चयन गरेर कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।
उहाँले कार्यक्रमहरूमा प्रत्यक्ष सहभागी भएर आफ्ना नजिकका पर्यटकीय क्षेत्रहरूको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउन आग्रह गर्नुभयो ।
सताक्षीधाम मन्दिर तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार सतासी धारामा स्नान गरेपछि दिगम्बेश्वर महादेवको मन्दिर र शाकम्बरी शताक्षी देवीको मन्दिरमा पूजा अर्चना गर्न सकिनेछ ।
पौराणिक कथासँग जोडिएको यो धामको वास्तविक नाम शताक्षी हो । शताक्षीको व्याख्या विभिन्न धार्मिक र सांस्कृतिक सन्दर्भमा जोडिएर आउने धार्मिक गुरुहरूले बताउनुभएको छ ।
सताक्षी धाममा निर्माण भएको ८७ धारामा दिगम्बेश्वर महादेव र शाकम्बरी सताक्षी मन्दिर नजिकैको शताक्षी गङ्गाको पानी ल्याएर जडान गरिएको छ । तर यो धारालाई मुक्तिनाथमा भएका १०८ धारा पछिको दोस्रो मुक्तिनाथको धारा भएको गौ संरक्षक घनश्याम शास्त्रीले बताउनुभयो ।
चारैतिर चुरे पहाडले घेरेको नदीको पछिल्ला समयमा शताक्षीधाम क्षेत्रमा स्थायी पूर्वाधारहरू निर्माण भइरहेका छन् । आजै मुख्यमन्त्री कार्कीले धाम क्षेत्रमा अतिथि गृहको पनि शिलान्यास गर्नुभएको छ ।
सो अवसरमा गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले भवन निर्माण सहयोगार्थ १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो ।
समितिका अध्यक्ष तुलाराम बुखिमको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य राधाकृष्ण खनाल, शिवशताक्षी नगरपालिकाका प्रमुख मेघा हाङ थोप्रा ‘रोसन’को उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्