तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न मन्त्री गुप्तालाई अध्यक्ष शाहको आग्रह

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।

गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजु कुमार गुप्तासँग फोनका कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत जनक लाल चौधरीको सरुवा रोक्न अनुरोध गरेका हुन् ।

नरैनापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा (पदस्थापन) गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय कानून विपरीत भई त्रुटिपूर्ण भएको भन्दै गाउँपालिकाका अध्यक्ष शाहले उक्त निर्णय बदर गरिदिन मन्त्री गुप्ता र सचिव भरत मणि सुबेदी सँग अनुरोध गर्नु भएको छ ।

नरैनापुरका अध्यक्ष शाहले भन्नुभयो,‘निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा ३ मा “‘निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले सामान्यतः वर्षमा एकपटक कम्तीमा दुई वर्षको लागि सरुवा गर्नु पर्दछ” भन्ने व्यवस्था रहेको छ । सोही ऐनको दफा १८ को उपदफा १२ मा यस दफा विपरीत भएको सरुवा सामान्य प्रशासन मन्त्रालयले रद्द गर्न सक्नेछ र यदि सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएको रहेछ भने नेपाल सरकार मन्त्रिपरिषद्ले रद्द गर्नेछ भन्ने व्यवस्था रहेको हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस नरैनापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा (पदस्थापन) गर्ने निर्णय कानून विपरीत भई त्रुटिपूर्ण भएको हुँदा उक्त निर्णय बदर गरिदिनु हुन अनुरोध गर्दछु ।,’ उहाँले सामान्य प्रशासन मन्त्रालयले सरुवा रद्द नगरे गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने उल्लेख गर्नु भयो ।

यता नरैनापुर गाउँपालिकाका कर्मचारीहरूले केही राजनीतिक स्वार्थका कारण प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको भन्दै मङ्गलवार गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै सरुवा तत्काल रोक्न माग गरेका छन् । कर्मचारीहरूले सरुवा नरोकिए आफू चरणबद्ध रुपमा आन्दोलन गर्न माध्य हुने चेतावनी दिएका छन् ।

यस्तै नरैनापुरका स्थानीयहरूले गाउँपालिका अध्यक्षको सहमति बिना मन्त्रालयले गरेको सरुवाको कडा शब्दमा निन्दा गरेका छन् । गाउँपालिकामा भ्रष्टाचार निम्त्याउनको लागि प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको भन्दै तत्काल सरुवा रोक्न माग गरेका छन् । स्थानीयहरूले नयाँ प्रशासकीय अधिकृतलाई नरैनापुरमा प्रवेश गर्न नदिने चेतावनी समेत दिएका छन् ।

मन्त्रालयले २०८१ मङ्सिर ९ मा चौधरीलाई सरुवा गरी उनको ठाउँमा प्रमुख प्रशासकीय  अधिकृत नवराज वलीलाई खटाएको थियो । चौधरीको सरुवा कानून विपरीत भएको अध्यक्ष शाह बताउँदै आउनु भएको छ । अध्यक्ष शाहले स्थानीय नागरिक र कर्मचारीहरू नै आन्दोलनमा होमिएकोले वलीलाई हाजिर गराउन नसक्ने जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button