तपाईँ सुन्दै हुनुहुन्छः

विकासमा सबै पक्षको सहकार्य आवश्यक : मुख्यमन्त्री कडेल 

मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले मुगु जिल्लामा सञ्चालित ठूला आयोजनाहरूको अवस्था अध्ययन गरी आवश्यक निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 

नेपाल पत्रकार महासङ्घको आयोजनामा पत्रकारहरूसँग भएको विशेष भेटघाट कार्यक्रममा मुख्यमन्त्री कडेलले जिल्लाको विकास निर्माणका विषयमा उठेका प्रश्नहरूको उत्तर दिनुहुँदै विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

मुख्यमन्त्री कडेलले मुगु जिल्लामा रहेका ठूला विकास आयोजनाहरूको प्रभावकारिता, बजेट परिचालन र स्थानीय समुदायमा परेको प्रभावबारे स्पष्ट जानकारी लिई सम्बन्धित पक्षसँग छलफल गरिने बताउनुभयो।

“जिल्लाको विकासमा कुनै पनि योजना अवरुद्ध हुन दिन्नौँ। सबै पक्षसँग सहकार्य गरेर मात्र योजनाहरूको सफल कार्यान्वयन सम्भव छ।”, उहाँले भन्नुभयो । 

सो अवसरमा मुख्यमन्त्री कडेलले सडक निर्माण, विद्युत्, गमगढी–नाक्चेलाग्ना सडक विस्तार, रारा विमानस्थलको टर्मिनल भवन र विमानस्थलको पहिरो रोकथामका साथै राराको पर्यटन बिकास र अलपत्र अवस्थामा रहेको रारा पर्यटन पदमार्गको विषयका साथै स्वास्थ्य र कृषि क्षेत्रमा देखिएका समस्या र ढिलासुस्ती विषयमा आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो ।

मुख्यमन्त्री कडेलले निकट भविष्यमा जिल्लामा विशेष कार्यक्रममार्फत ठूला आयोजना अनुगमन र निर्णय लिने प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो 

कार्यक्रममा सहभागी स्थानीय नेताहरूले विकास आयोजनामा देखिएका चुनौतीहरूको समाधान गर्न ठोस योजना बनाउन मुख्यमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button