तपाईँ सुन्दै हुनुहुन्छः

बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या २५ भन्दा बढी  

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकलाई घुम्न सहज वातावरण बनाइँदै

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समयमा पाटेबाघको सङ्ख्या २५ भन्दा बढी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । 

उहाँले ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चरा रेकर्ड गरिएको बताउनुभयो । 

बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग कि.मि.लाई निकुञ्जको मध्यवर्ती क्षेत्रका रुपमा छुट्याइएको छ । 

स्वदेशी तथा विदेशी पर्यटकलाई औपचारिक रुपमा प्रवेश गराउने योजना रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।  “निकुञ्जभित्र सफारी त खुला नै छ, पर्यटकलाई जङ्गलभित्र प्रवेश गराउनुअघि वन पथ वरिपरिको झाडी सफा गर्ने योजना छ ।”, उहाँले बताउनुभयो । 

घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट टिकट काट्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । 

प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटे बाघसहित आहारा प्रजातीका वन्यजन्तु अवलोकन गर्न सक्ने गरी व्यवस्था गर्न लागिएको छ । 

निकुञ्जभित्र वन्यजन्तुलाई अवलोकन गर्नका लागि ठाउँ–ठाउँमा मचान, घाँसे मैदान, कृत्रिम पोखरी, वन पथ जस्ता पूर्वाधार निर्माण गरिएको छ । पर्यटनलाई केन्द्र विन्दुमा राखेर काम भइरहेको कडेलले जानकारी दिनुभयो । 

स्थल र हवाई यातायातका दृष्टिकोणले नेपालगन्जलाई सुगम मानिने भएकाले निकुञ्जमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज हुने उहाँको भनाई छ । 

गर्मीयामको समयमा निकुञ्जभित्र वन्यजन्तुलाई पिउने पानीको अभाव हुन नदिन निकुञ्जले कृत्रिम पोखरीहरू निर्माण गरेको छ । स्थापनाको १३ वर्षसम्म निकुञ्ज क्षेत्रमा संरक्षणसँगै दुर्लभ वन्यजन्तु पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल ५ सय ५० वर्ग किलोमिटर रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button