वैकुण्ठधाम निर्माण आयोजना उच्च प्राथमिकता: मुख्यमन्त्री आचार्य
नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगञ्जमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समीक्षा बैठकलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले बहुबर्षिय आयोजनामा समावेश गरेर उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताउनुभएको हो ।‘यो निकै राम्रो सामाजिक कार्य हो । यो दल, उ दल भन्दा पनि आम नागरिकको सहभागितामा अघि बढेको यो कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्नेछ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘जग्गा प्राप्ति र डिपिआर निर्माण गरेर आयोजना कार्यान्वयनलाई अघि बढाउन जरुरी छ ।
महायज्ञबाट पनि यहाँहरूले लगानी जम्मा गर्नु भएको छ । सबै स्रोतहरूको सही परिचालन गरेर आयोजना कार्यान्वयनमा लैजानुपर्नेछ ।’ डुडुवा गाउँपालिका वडा नं.५ स्थित राप्ती नदी तटमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्न थालिएको छ । समुदायको अग्रसरतामा अघि बढेको कामलाई प्रदेश सरकारले साथ दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
विद्युतीय शवदाहगृह सहित सिधनियाघाट हुने र अर्को पाटोमा किरियापुत्री घर, मन्दिर, सभाहल, ध्यान केन्द्र, पितृको मृत्यु कर्म, सोह्र श्रद्धा कर्म एवम् पितृ मोक्षका अन्य कर्मकाण्ड सम्पन्न गर्न मिल्ने आध्यात्मिक उपवन‘वैकुण्ठधाम’ आयोजना अघि बढाइएको छ । वैकुण्ठधाम निर्माणकालागि नागरिक सहभागिता जुटाउन कार्तिक २२ गतेदेखी महायज्ञ समेत सञ्चालन गरिएको थियो । यज्ञमा करिब तीन करोड दान सङ्कलन भएको थियो ।
समीक्षा बैठक वैकुण्ठधाम सिधनियाघाट समितिका अध्यक्ष डा.सुरेशकुमार कनौडियाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्