तपाईँ सुन्दै हुनुहुन्छः

‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार

काठमाडौँ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका क्रममा दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार कार्य गरिएको छ । उद्धार हुनेहरूमा एक सय ७९ जना पुरुष र ५७ महिलामध्ये पाँच बालिका र चार बालक रहेको मानव सेवा आश्रमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

उद्धार गरिएकाहरूमा कोसी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी कूल ४४ जना, मधेस प्रदेशबाट २९ पुरुष र ११ महिला गरी कूल ४० जना, बागमती प्रदेशबाट ४० पुरुष र १७ महिला गरी कूल ५७ जना, गण्डकी प्रदेशबाट २७ पुरुष र आठ महिला गरी कूल ३५ जना, लुम्बिनी प्रदेशबाट ४० पुरुष र नौ महिला गरी कूल ४९ जना, कर्णाली प्रदेशबाट दुई पुरुष र एक महिला गरी कूल तीन जना र सुदूरपश्चिम प्रदेशबाट छ पुरुष र दुई महिला गरी कूल आठ जना रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते बालुवाटारमा यात्राको औपचारिक समुद्घाटन गर्नुभएको थियो भने समापन पनि प्रधानमन्त्री ओलीकै प्रमुख आतिथ्यमा आगामी मङ्सिर ३ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा समापन हुने जनाइएको छ । उद्धार कार्य गत असोज २८ गते झापाको मेची पुलबाट सुरु गरिएको थियो । यस राष्ट्रिय उद्धार टोलीले देशका सातै वटा प्रदेशका ४४ जिल्लामा पुगेर सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धारमा सहभागी भएका थिए । उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानव सेवा आश्रमका संस्थापक/केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायत ४७ जनाको सहभागिता रहेको थियो । ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ को सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले व्यहोरेको थियो ।

यसअघि पनि आश्रमले २०७९ सालमा पहिलो र २०८० सालमा दोस्रो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न गरिसकेको छ । यस आश्रमले स्वयं आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अति कमजोर र अनाथ मानवहरू) हालसम्म १० हजार सात सय ६४ जनाको उद्धार गरिसकेको छ । तीमध्ये चार हजार दुई सय १६ जनाको परिवारसँग पुनर्मिलन गराई घरमै पुनःस्थापना गरिसकेको छ । त्यस्तै आठ सय ७७ जनाको सामुदायिक पुनःस्थापना गरिएको छ ।

मानसिक असन्तुलनको अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थामा रहेका एक हजार नौ सय छ जना संस्थाको २५ वटा सेवा केन्द्रहरूमा आश्रित गराई स्वास्थ्य सेवा दिलाइरहेको छ भने हालै उद्धार गरिएका दुई सय ३५ जना सहयोगापेक्षी सडक मानवहरूलाई आश्रमका १५ वटा सेवा केन्द्रमा संरक्षण गरी खाना नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्था गरिएको आश्रमले जनाएको छ ।

सरकारले आव २०८१र८२ को नीति तथा कार्यक्रममा नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्प गरिनुले यस संस्थाको लक्ष्य २०८२ घोषणाको लागि निकै ठूलो आधार निर्माण भएको आश्रमका संस्थापक अध्यक्ष अधिकारी बताउनुहुन्छ ।

विसं २०६९ मा मकवानपुर, हेटौँडामा औपचारिक रूपमा स्थापना भएको मानव सेवा आश्रमले सातवटै प्रदेशका १९ जिल्लाका २५ सेवा केन्द्रहरूमार्फत बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अति कमजोर र अनाथहरूको उद्धार गरी उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button