तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक सुरु

काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गरिनेछ । 

कार्यसूचीअनुसार बैठकमा शासकीय सुधार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा वन क्षेत्रको उपयोग, आयोजना बैङ्क, सार्वजनिक खरिद प्रयोजनका लागि जिल्ला दररेट, बाल सुधार गृह सञ्चालन तथा सडक बालबालिका मुक्त अभियान, सङ्घ, प्रदेश र स्थानीय तहमा सरकारी भवन, समपूरक अनुदानका सम्बन्धमा छलफल हुनेछ । 

त्यसैगरी सोह्रौँ आयोजनाको कार्यान्वयन योजना, आयोजनाको बहुवर्षीय ठेक्का व्यवस्थापन, विद्युत् महसुल सङ्कलन विनियमावली, अनिवार्य तथा निःशुल्क शिक्षा, सार्वजनिक सेवामा इन्टर्नसिप, विपद् उत्थानशील पूर्वाधार निर्माण, विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनाका सम्बन्धमा पनि  छलफल हुने कार्यसूची रहेको छ । 

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले समष्टिगत आर्थिक परिसूचकको अवस्था र प्रवृत्ति, नेपाल सरकारको सार्वजनिक वित्त परिचालनको अवस्था, सङ्घीयतापछि चालु आर्थिक वर्षसम्मको आर्थिक सामाजिक प्रगति स्थिति, प्रदेशहरूको समष्टिगत आर्थिक अवस्था, चालु आर्थिक वर्षको प्रगति स्थिति, यसअघिका पछिल्ला तीन वटा विकास समस्या समाधान समितिका बैठकका निर्णयको कार्यान्वयन स्थितिलगायत विषयमा प्रस्तुतीकरण गर्नुभयो ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मन्त्रीहरू, प्रदेश सरकारका मुख्यमन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संघ तथा प्रदेश सरकारका सचिवहरूलगायत सहभागी हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button