तपाईँ सुन्दै हुनुहुन्छः

उत्पादनको क्षेत्रमा जोड दिन नीजि क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौँ I उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले उत्पादनको क्षेत्रमा जोड दिन नीजि क्षेत्रसँग आग्रह गर्नुभएको छ । 

नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा आज शुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उहाँले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको हो । 

‘हामीले जोड दिनुपर्ने क्षेत्र भनेको म्यानुफ्याक्चरिङ हो । नेपालको कूल ग्राहस्थ उत्पादनमा ह्रास भइरहेको छ । यसलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्रमा हामीहरुले जोड दिनुपर्ने हुन्छ’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो । अहिले क्लिन इनर्जीको आवश्यकता बढ्दै गएको भन्दै उहाँले उत्पादनको क्षेत्रलाई पुग्ने विद्युत् उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसमा नेपालमै बनेको सामाग्री प्रयोग गर्न सके अर्थतन्त्रमा राम्रो परिणाम दिने पनि उहाँले बताउनुभयो । 

नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन अहिलेको सरकारले काम गरिरहेको भन्दै उपप्रधानमन्त्री सिंहले उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श लगायतका नीजि क्षेत्रका संस्थाहरूले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको पनि बताउनुभयो । ‘नीजि क्षेत्रले उठाएका कुरालाई सरकारले ध्यान दिएको छ । यसको सकारात्मक परिणाम केही समयपछि सबैले देख्नेछैनन् भन्न चाहन्छु,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘ तपाईँहरूले एक्जिबिसन हलको कुरा गर्नुभयो । आर्थिक गतिविधि बढ्दै गएपछि एक्जिबिसन गर्ने हल त चाहियो नी । आवश्यकता अनुसार आधुनिक एक्जिबिसन हल बनाउन के गर्दा सकिन्छ, तपाईंहरुसँग सल्लाह गरेर अगाडी बढाउँछौ ।’ 

आजबाट शुरुभएको ‘फिन इलेक्ट्रो टेक २०२४’ मङ्सिर २ गतेसम्म चल्नेछ । प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स,सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवद्र्धन गर्नुको साथै उद्योगमा भएका नवीनतम उपलब्धिहरूबारे सूचना आदान–प्रदान गरिने छ । प्रदर्शनीमा २८ वटा स्टलहरू र हल बाहिर पनि २६ स्टलहरू रहने छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button