अख्तियारलाई शक्ति सम्पन्न, निष्पक्ष र स्वतन्त्र बनाइनु पर्नेमा सांसदहरूको जोड

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्ति सम्पन्न, निष्पक्ष र स्वतन्त्र बनाइनु पर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरूले अख्तियार राजनीतिको छायामा पर्न नुहुनेमा जोड दिनुभयो ।
सांसदहरुले अख्तियारलाई शक्ति सम्पन्न, निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा विधेयकमा ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसदहरुले सरकारी कार्यालय र निकायहरूमा भइरहेको भ्रष्टाचारका विषयमा प्रभावकारी अनुसन्धान हुन नसकिरहेको अवस्थामा अख्तियारको कार्यक्षेत्रमा नीजि क्षेत्र समेट्दा मुलुकको अर्थतन्त्र धरासायी बन्ने बताउनुभयो ।
मुलुकमा भ्रष्टाचार नियन्त्रण नगरी सुशासन कायम हुन नसक्ने भएकाले नीतिगत निर्णयका विषयलाई पनि स्पष्ट गर्दै राष्ट्र र जनताका हितमा नगरी नहुने विषयलाई मात्र नीतिगत बनाइनुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।
संशोधन कर्ता सांसदहरुले सातवटै प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा राख्ने कुरा वैज्ञानिक हुने, बेनामी उजुरी हाल्ने व्यवस्था हटाइनु पर्ने, नीजि क्षेत्रमा अख्तियार प्रवेश गराउन नहुने लगायतका सुझाव दिनुभयो ।
सांसदहरुले अख्तियार पूर्व कर्मचारीहरूको क्लब तथा सत्ता शक्ति र भ्रष्टाचारको पर्यायवाची बनेको आरोप समेत लगाउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि ३२ जना सांसदहरूको ६३ वटा विषयमा संशोधन परेको छ ।
समितिले छलफलमा उपस्थित हुन बाँकी संशोधनकर्ता सांसदहरूसँग अब एक पटक छलफल गरेर विधेयकमाथिको दफावार छलफलका लागि उपसमितिमा पठाउने निर्णय भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्